सुरक्षा निकायको नेतृत्वमा कडा प्रतिस्पर्धा

काठमाडौ। नेपालको सुरक्षा निकायको नेतृत्व अव एक पछि अर्को गरेर परिवर्तन हुने तर्खरमा रहेको छ। यसो हुनुको एउटै कारण नेतृत्वमा रहेकाहरु एक पछि अर्को गरेर सेवा निवृत हुन लागेर त्यसो भएको हो। नेतृत्व परिवर्तनमा रहेका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वमा अब को आउने होला भन्ने कौतूहलता थपिएको छ।
नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ११ जना एआईजीले फागुन १ गते ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाश पाउने भएको छ। जसले गर्दा प्रहरीमा नयाँ नेतृत्वको खोजी हुन थालेको प्रहरी उच्च स्रोतले बताएको छ। सशस्त्र प्रहरीमा पनि महानिरीक्षक दुर्जकुमार राईले अनिवार्य अवकाश पाउने भएपछि त्यहाँ पनि नेतृत्वको आकांक्षीहरु वीच प्रतिस्पर्धा चल्न थालेको छ।
नेपाल प्रहरीमा भने आईजीपीसँगै एआईजीहरुले पनि एकसाथ अवकाश पाउने भएपछि अब एकैचोटी प्रहरी नायव महानिरीक्षक अर्थात् डिआइजी मध्येबाट एकजनाले संगठनको नेतृत्व गर्ने पक्का–पक्की भएको छ। डीआईजीबाटै आईजीपी हुने दौड शुरु भएको छ। वि.सं. २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका चार जना समकक्षी डिआइजी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी वीच प्रतिस्पर्धा हुने देखिएका छन् ।
प्रहरी संगठनमा प्रवेश गर्दादेखि बढुवा हुँदाको ज्येष्ठता र कार्यदक्षता यस्ता पदमा उक्लन स्वाभाविक योग्यता हुन्। तर नेपाल प्रहरीमा आईजीपी हुन यी योग्यता मात्र नभई राजनीति पनि दाहिना हुनुपर्ने थुप्रै परिघटनाहरुले देखाएका छन् । यसलेगर्दा नेतृत्व चाहनेहरु नेताको घर, कार्यालय र चोटा–कोठा पुग्ने गरेका छन् । सार्वजनिक कार्यक्रम हुँदा सांगठनिक पोशाकमै देखिनु र अरु समयमा निजी पोशाकमा ती आकाँक्षीहरु हाल झुल्किनु उनीहरुको बाध्यता नै जस्तो नै देखिएका छन्।
हालका प्रतिस्पर्धी मध्ये डीआईजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान ब्यूरो, डीआईजी प्रकाश अर्याल महानगरीय ट्राफिक प्रहरी महाशाखा, जयबहादुर चन्द लागु औषध नियन्त्रण ब्यूरो र बमबहादुर भण्डारी प्रहरीको आतंकवाद हेर्ने विशेष ब्युरो सम्हालिरहेका छन्।
प्रहरी ऐनले एआईजी नभएका बेलामा डीआईजी मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा सरकारले उपयुक्त उम्मेद्वारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्ने बाटो खोलेको छ।
यिनै चार मध्येबाट योग्यतम व्यक्तिलाई सरकारले महानिरीक्षकमा नियुक्ति गरिने भएको छ। त्यसैले त चारै जना प्रतिष्पर्धी राजनीतिक लबिङदेखि समाचार माध्यम र सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्।
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।