फागुन १७ वाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन देशभरबाटै हटाइने

काठमाडौ। नेपाल सरकारले फागुन १७ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई देशभरबाटै हटाउने भएको छ। २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी सरकारले आउँदो फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको थियो ।
पुराना सवारीसाधन नवीकरण नगरेका सवारीधनीलाई राजस्व तिराएर त्यस्ता सवारी पत्रु गराउने तयारी विभागको छ। २० वर्ष पुराना सवारीको नवीकरण नहुने र वातावरणमैत्री हरियो स्टिकर नपाउने हुँदा त्यस्ता सवारी स्वतः हट्ने विश्वास विभागले लिएको छ।
विभागका अनुसार काठमाडौं उपत्यकामा मात्र अहिले ९ लाख ६३ हजार ५ सय ८ वटा सवारीसाधन दर्ता भए पनि राजधानीबाहिर दर्ता भएका समेत गरी यहाँ करिब १० लाख सवारीसाधन गुड्छन् । यीमध्ये २० वर्ष पुराना सवारीको संख्या १ लाख ५ हजार ५ सय ६२ छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजधानीमा प्रदूषण र ट्राफिक जाम बढ्नुको मुख्य कारक २० वर्ष पुराना गाडी भन्दै हटाउने निर्णय गरेको थियो । सवारी तथा यातायात व्यवस्था ऐनले सवारी सञ्चालनयोग्य भएनभएको जाँच्न परीक्षण मापदण्ड बनाएको छ।
सवारीको यान्त्रिक स्थिति, लम्बाइ, चौडाइ, उचाइ, बनोट वा स्वरूप, सवारीबाट हुनसक्ने प्रदूषण, सवारी चलाउन सकिने अवधिलाई प्राथमिकता दिई परीक्षण मापदण्ड निर्धारण गरिएको छ । सवारी सञ्चालनयोग्य भएको प्रमाणपत्र दिने क्रममा जाँचपास गर्नेरनगर्ने, सवारी दर्ता गर्नेरनगर्ने अधिकार विभागमा निहित भएकाले सोही आधारमा पुराना सवारी हटाउन लागिएको हो ।
प्रकाशन मिति–२०७३ साल माघ २४ गते सोमवार ।