अमेरिकामा पढ्न जाने नेपाली विद्यार्थीहरु व्हात्तै घट्यो–नो अब्जेक्शन लेटर लिनेको संख्या शुन्य

maitrinews

काठमाडौ। विश्वको शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हासिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ।

राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो । आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् ।

Ministry of Education

शिक्षा मन्त्रालयका उपसचिव डिल्लिश्वर प्रधानका अनुसार अंग्रेजी महिनाको सुरू अर्थात जनवरी लागेदेखि अमेरिकाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या घट्दै गएको छ। मन्त्रालयको तथ्यांक अनुसार मंसिर १ देखि पुस १६ गतेसम्म ६ हजार तीन सय ६६ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए।

यसमा अस्ट्रेलिया जाने विद्यार्थी धेरै थिए भने दोस्रो स्थानमा अमेरिका थियो । राष्ट्रपति ट्रम्पको उदयसँगै अमेरिका जाने नेपाली विद्यार्थी ह्वात्तै घटेको पाइएको छ। काठमाडौ स्थित अमेरिकन राजदूतावासले पनि भिसा दिन अत्यन्त कडाई गरेको कारण पनि विद्यार्थीहरुको अमेरिका जाने आकर्षण अघिल्लो बर्षको तुलनामा निक्कै घटेको छ।

अमेरिका जान खोज्ने प्राय सवै नेपाली विद्यार्थी अष्ट्रेलिया तथा अन्य युरोपियन मुलुकतिर जान थालेका छन्। अमेरिका गएर पढ्ने सपना प्रायले त्यागेको पाइएको छ।
प्रकाशन मिति–२०७३ साल माघ २४ गते सोमवार ।