सार्वजनिक निष्काशन गर्ने कम्पनीहरुलाई शिघ्र बाँडफाँट गर्न निर्देशन
काठमाडौं । धितोपत्र वोर्डले सार्वजनिक निष्काशन गर्ने कम्पनीहरुलाई शिघ्र बाँडफाँट गर्न निर्देशन दिएको छ । वोर्डले वित्तीय बजारमा परेको तरलताको समस्या र त्यसको प्रतिकूल असर धितोपत्रको दोस्रो बजारमा समेत परेको देखिएकोले यस अवस्थालाई दृष्टिगत गरीे हालसालै सार्वजनिक निष्काशन गर्ने कम्पनीका साधारण शेयरको छिटो बाँडफाँट गर्ने व्यवस्था गरी तरलताको स्थितिलाई सहज पार्न सहयोग गर्न बोर्डले सम्बन्धित निष्काशन तथा विक्री प्रबन्धकहरुलाई निर्देशन दिएको हो ।
यस क्रममा हालसालै थप सार्बजनिक निष्काशन गरेको नेपाल लाईफ ईन्स्योरन्स कम्पनी लि.को धितोपत्रको बाँडफाँट साविकको व्यवस्था अनुसार निष्काशन बन्द भएको मितिले ६० दिन भित्र गर्नुपर्नेमा बोर्डले दिएको निर्देशन अनुसार ४० दिन भित्र वाँडफाँट गर्नुपर्ने छ । यसैगरी प्रारम्भिक सार्वजनिक निष्काशन गरेको फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्थाको धितोपत्र बाँडफाँट विक्री बन्द भएको मितिले ५० दिन भित्र गर्नुपर्नेमा बोर्डले दिएको निर्देशन अनुसार ३० दिन भित्र गर्नुपर्ने गरी सम्बन्धित निष्काशन तथा विक्री प्रबन्धकहरु क्रमशः सिद्धार्थ क्यापिटल लि. र नविल इन्भेष्टमेण्ट बैंकिङ्गलाई निर्देशन दिइएको छ ।
यस व्यवस्थाले गर्दा ३ लाख ७० हजार भन्दा बढी लगानीकर्ताहरुले ५५ अर्ब भन्दा बढीको रकम छिटो फिर्ता भुक्तानी पाई वित्तीय बजारमा देखिएको तरलताकोे समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरेको बोर्डले जनाएको छ ।