फुटबल हेडिङ गर्ने व्यवसायिक खेलाडीको मस्तिष्कमा क्षति

बेलायत । ब्रिटेनका अनुसन्धानकर्ताहरुले निरन्तर हेडिङ गर्नाले व्यावसायिक फुटबल खेलाडीहरुमा दीर्घकालमा मस्तिष्कमा क्षति पुग्नसक्ने प्रारम्भिक प्रमाण फेला पारेको बताएका छन्।
पहिलो पटक गरिएको उक्त अनुसन्धानले फुटबललाई निरन्तर टाउकोले हान्ने खेलाडीहरुमा उमेर ढल्कँदै गएपछि डिमेन्सिया भनिने स्मरणशक्ति गुम्ने रोग लाग्नसक्ने भन्ने विवरणलाई केलाएको थियो।
फुटबलका निकायहरुले उक्त विषयलाई थप नजिकबाट ध्यान दिने बताएका छन्।
तर विज्ञहरुले मनोरञ्जनका लागि फुटबल खेल्ने खेलाडीमा यस्तो समस्या देखिने सम्भावना नरहेको उल्लेख गरेका छन्।
एउटा जर्नलमा प्रकाशित उक्त अध्ययनमा लन्डनको युनिभर्सिटी कलेज र कार्डिफ विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पाँच जना व्यावसायिक खेलाडी र एक जना गैर व्यावसायिक फुटबल खेलाडीको मस्तिष्कको अध्ययन गरेका थिए।
उनीहरु सबैले औसतमा २६ वर्ष फुटबल खेलेका थिए र सबै ६ जनालाई उनीहरुको उमेर ६० को दशकमा पुग्दा डिमेन्सिया देखिएको थियो।
शव परिक्षण गर्दा चार जना खेलाडीको मस्तिष्कमा क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोप्याथी अर्थात सिटिइ भनिने एक प्रकारको चोटको संकेतहरु पाइएका थिए।