संसद्मा कांग्रेसको अडानः प्रधानमन्त्री उपस्थित नभएसम्म विरोध जारी रहन्छ
काठमाडौँ, ३१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म सदनमा आफ्नो विरोध जारी राख्ने चेतावनी दिएको छ।
सोमबार (३१ वैशाख) को संसद् बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले सदनप्रति प्रधानमन्त्री उत्तरदायी हुनैपर्ने अडान राखेका हुन्। प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुख डोलप्रसाद अर्यालले अभिभावकीय र संरक्षकको भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
“फेरि पनि आग्रह गर्छु, तपाईं हाम्रो अभिभावक हो, संसद्को संरक्षक हो। यस विषयमा हजुर गम्भीर बन्नुपर्छ,” सभामुखको ध्यानाकर्षण गराउँदै सचेतक राईले भने, “यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहनेछ।”
सचेतक राईले प्रधानमन्त्रीले संसद्लाई छल्न खोजेको आरोप लगाउँदै यसलाई संसदीय व्यवस्थाप्रतिकै उदासिनताको संज्ञा दिए।
प्रधानमन्त्रीले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्रै होइन, यो संसदीय व्यवस्थाप्रतिको उदासिनता हाे । साथै, सचेतक राईले सत्तापक्षका सांसदहरूको व्यवहारप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री सदनमा उपस्थित नहुनेजस्तो गम्भीर विषयलाई सत्तापक्षका सदस्यहरूले सामान्यीकरण गर्ने प्रयत्न गरिरहेको भन्दै उनले दुःख व्यक्त गरे। प्रधानमन्त्रीले जवाफदेहिता नदेखाएसम्म सदनको नियमित कार्यसूची अगाडि बढ्न नदिने कांग्रेसले प्रस्ट पारेको छ।