कार्यवाहक प्रमुख डङ्गोलको नेतृत्वमा स्वास्थ्य सुधारका कार्यक्रम : महानगरका स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवाग्राहीको उत्साहजनक आकर्षण
काठमाडौँ, वैशाख ३१ । काठमाडौँ महानगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै सञ्चालन गरेको ‘स्वास्थ्य प्रवर्धन केन्द्र’हरू यतिबेला जनविश्वासको केन्द्र बनेका छन् । कार्यवाहक प्रमुख सुनिता डङ्गोलको सक्रिय नेतृत्व र दुरदर्शी योजनाका कारण महानगरका ३२ वटै वडामा स्वास्थ्य सेवाको पहुँच मात्र पुगेको छैन, सेवाको गुणस्तरमा समेत आमूल परिवर्तन आएको छ।
सेवाग्राहीको बढ्दो चाप : तथ्याङ्कले बोल्छ सफलता
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने महानगरको स्वास्थ्य सेवामा देखिएको सुधार प्रष्ट हुन्छ। यस अवधिमा १ लाख ७६ हजार २९१ जनाले महानगरका केन्द्रहरूबाट स्वास्थ्य सेवा लिएका छन् । तीमध्ये ७३ हजार ५०४ जनाले ओपिडी (OPD) सेवा प्राप्त गरेका छन्।
यो सङ्ख्या विगतका वर्षहरूको तुलनामा उल्लेख्य वृद्धि हो । आर्थिक वर्ष २०८०/८१ मा १ लाख २४ हजार र २०८१/८२ मा १ लाख ९४ हजार सेवाग्राहीले सेवा लिएका थिए भने यस वर्ष यो सङ्ख्या २ लाख ४० हजार पुग्ने प्रक्षेपण गरिएको छ। यो वृद्धिले महानगरको स्वास्थ्य सेवाप्रति नागरिकको भरोसा बढ्दै गएको पुष्टि गर्छ ।
कार्यवाहक प्रमुखको स्पष्ट मार्गदर्शन : ‘सन्तुलित सेवा नै स्वस्थ्य समाजको आधार’
बुधबार स्वास्थ्य विभागका अधिकारीहरूसँगको विशेष बैठकमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्वास्थ्य प्रणालीलाई केवल उपचारमा मात्र सीमित नराखी बहुआयामिक बनाउन निर्देशन दिनुभयो। उहाँले शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उपचारात्मक, प्रवर्धनात्मक, प्रतिरोधात्मक, निदानात्मक र पुनःस्थापनात्मक सेवाबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
“स्वस्थ्य समाज निर्माणका लागि सबै प्रकारका सेवालाई समान प्राथमिकता दिनुपर्छ,” कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “एउटा कार्यक्रम प्रभावकारी भएर अर्को कमजोर भयो भने त्यसले समग्र प्रणालीमा नकारात्मक असर गर्छ। त्यसैले हरेक पक्षमा गुणस्तर सुनिश्चित हुनुपर्छ ।”
लगानी र कार्यक्रमको विस्तार
महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि आफ्नो कुल बजेटको ३.९ प्रतिशत अर्थात् ९७ करोड ९९ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ। स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी.का अनुसार महानगरको आन्तरिक बजेटबाट मात्रै १५४ वटा कार्यक्रम सञ्चालनमा छन् भने सङ्घ र प्रदेश सरकारको सहयोगमा थप ३३ वटा कार्यक्रम कार्यान्वयन भइरहेका छन् ।
महानगरले हरेक वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरी सुरक्षित मातृत्व, खोप, नसर्ने रोगको स्क्रिनिङ, ल्याब सेवा, आयुर्वेद र ज्येष्ठ नागरिक स्वास्थ्य सेवा जस्ता महत्त्वपूर्ण सेवाहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
गुणस्तरको कसी: न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन
सेवाको गुणस्तर मापनका लागि महानगरले ‘न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन’ सुरु गरेको छ। ३०८ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा वडा नं. ७, १२, १९, २७ का स्वास्थ्य प्रवर्धन केन्द्र र रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले ‘उत्कृष्ट’ (हरियो रङ्ग) नतिजा प्राप्त गरेका छन् ।
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महानगरका अधिकांश केन्द्रहरू सुधारको बाटोमा छन् र कुनै पनि केन्द्र ‘कमजोर’ (सेतो रङ्ग) को सूचीमा छैनन्। क्लिनिकल सेवा व्यवस्थापन, सुशासन र सहयोगी सेवालाई मुख्य आधार बनाएर यो मूल्याङ्कन गरिएको हो ।
उपचारात्मकदेखि प्रवर्धनात्मक सेवासम्म
महानगरका केन्द्रहरूबाट अहिले प्राथमिक उपचारदेखि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण र डेङ्गी रोकथामका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्। साथै, नसर्ने रोग नियन्त्रणका लागि सचेतना महाअभियान, विद्यालय स्वास्थ्य शिक्षा र योग अभ्यास जस्ता प्रवर्धनात्मक कार्यले नागरिकको जीवनशैली परिवर्तनमा समेत टेवा पुर्याएको छ ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलको यो सक्रियताले काठमाडौँ महानगरलाई केवल भौतिक पूर्वाधारको सहर मात्र नभई ‘स्वस्थ र खुसी नागरिकको सहर’ बनाउने दिशामा अग्रसर गराएको छ ।