म्याच फिक्सिङ गर्नेलाई तीन वर्ष कैद हुने

maitrinews

काठमाडौँ । राष्ट्रियरअन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुरसम्बन्धी विधेयकमा म्याच फिक्सिङमा संलग्नलाई सजायको व्यवस्था गरिएको हो ।
संसद्को विधायन समितिअन्तर्गत एमाले सांसद कृष्णभक्त पोखरेल संयोजकत्वको उपसमितिले फौजदारी कसुरसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पहिलोपटक म्याच फिक्सिङलाई कानुनी दायरामा ल्याएको हो । उपसमितिले म्याच फिक्सिङलाई राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर ठहर गर्दै सजायको व्यवस्था गरेको हो ।
गत वर्ष राष्ट्रिय फुटबल टोलीका केही खेलाडी र पदाधिकारी म्याच फिक्सिङमा संलग्न रहेको पुष्टि भए पनि कुन ऐनअन्तर्गत कारबाही अघि बढाउने भन्ने अन्योल देखिएको थियो । ‘नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँगको समूहले वा कुनै ठाउँ विशेषको प्रतिनिधित्व गरी राष्ट्रियस्तरका खेलाडीको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुनेगरी मिलेमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर भएको मानिनेछु, विधेयकको दफा ५१ को उपदफा (३)मा उल्लेख छ ।
म्याच फिक्सिङको आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न उक्साउने वा त्यस्तो कसुर गर्न मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदार सरह सजाय हुने विधेयकमा उल्लेख छ । सामाजिक सञ्जालमा एक व्यक्तिको केही अंश अर्को व्यक्तिको शरीरसँग जोडेर विकृत बनाउनेलाई पनि कारबाहीको व्यवस्था विधेयकमा गरिएको छ । ‘कुनै एक व्यक्तिको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखेर वा अन्य कुनै किसिमले विकृत रूपको तस्बिर बनाउन वा प्रकाशन गर्नुहुँदैन । त्यस्तो कार्य गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना हुने व्यवस्था हुनेछु, विधेयकको दफा २५१ मा उल्लेख छ ।