एमालेको कार्यक्रम विथोल्न खोज्दा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप
रौतहट,फागुन १५ । रौतहट तनावग्रस्त बनेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा वीपीचोक आज तनावग्रस्त बनेको हो ।
सदरमुकाम गौरस्थित ब्यारेक चौरमा एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम विथोल्न पुगेका मार्चाका कार्यकर्तालाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । ढुंगा हानाहानका क्रममा प्रहरी जवान रामविनय यादव, स्थानीय पत्रकार प्रभातकुमार झा र सर्वसाधारण नन्दकिशोर पटेल घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले ५र६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । वीपी चोकमा झडप र व्यारेक चौरमा कार्यक्रम चलेको थियो । अहिले स्थिति सामान्य बनेको छ । एमालेको कार्यक्रम पनि सकिएको छ । कार्यक्रममा सहभागी हुन पुगेका एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रहरीले कडा सुरक्षाका बीच चन्द्रनिगाहपुर पुर्याइएको छ ।