एकल महिलालाई आत्मसम्मान र साथको अनुभूति दिलाउन काठमाडौँ महानगर वडा २९ को सम्मान

काठमाडौँ,  जेठ २९ । काठमाडौँ महानगरपालिका वडा नं. २९ ले समाज निर्माणमा एकल महिलाहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई विशेष सम्मान प्रदान गरेको छ। वडा कार्यालयद्वारा आयोजित एक औपचारिक कार्यक्रमका बिच वडाभित्रका एकल महिलाहरूलाई सम्मान गरिएको हो ।

सम्मान र सामाजिक रूपान्तरणको प्रतिबद्धता
कार्यक्रममा वडाध्यक्ष कुश ढकालले एकल महिलाहरूलाई दोसल्ला (सल) ओढाएर सम्मान गर्नुका साथै साडी उपहार प्रदान गर्नुभयो। सो अवसरमा बोल्दै वडाध्यक्ष ढकालले समाज निर्माणमा हरेक नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा रहेका परम्परागत गलत धारणा र सामाजिक कुरीतिलाई रूपान्तरण गर्न आवश्यक छ। एकल महिलाहरूको आत्मसम्मान रक्षा र उहाँहरूको योगदानको निरन्तरताका लागि वडा कार्यालय सदैव साथमा रहनेछ  ।”

तथ्याङ्क र सामाजिक चुनौती
वडा सदस्य एवं कार्यक्रम संयोजक रेनु श्रेष्ठका अनुसार वडाभित्र करिब २०० जना एकल महिलाहरू रहेका छन्, जसमध्ये सम्मान कार्यक्रममा १४५ जनाको उत्साहजनक सहभागिता रहेको थियो । श्रेष्ठले सामाजिक संकोचका कारण कतिपय महिलाहरू अझै पनि परिचय खुल्न डराउने गरेको यथार्थ औँल्याउँदै भन्नुभयो, “धेरै आमाहरू इच्छा हुँदाहुँदै पनि सामाजिक डरका कारण खुल्न सक्नुभएको छैन। यो कार्यक्रम उहाँहरूलाई समाजको मूलधारमा ल्याउने एउटा प्रयास पनि हो ।”

यस कार्यक्रमका लागि ६० वर्ष पूरा भएका अविवाहिता महिला र जुनसुकै उमेरका भए पनि श्रीमान्को मृत्यु दर्ता भएका एकल महिलाहरूलाई सहभागी गराइएको थियो।

सहभागीको प्रतिक्रिया
सम्मान ग्रहण गरेपछि सहभागी महिलाहरूले राज्य र स्थानीय सरकारले आफूहरूलाई सम्झिएकोमा खुसी व्यक्त गर्नुभयो। “हामीले के उपहार पायौँ भन्ने भन्दा पनि वडाले हामीलाई सम्झिएर बोलायो र हाम्रो अस्तित्व स्वीकार गर्‍यो, यो नै हाम्रा लागि सबैभन्दा ठुलो कुरा हो,” एक सहभागीले भन्नुभयो ।

वडा कार्यालयले एकल महिलाहरूको हकहित र आत्मसम्मानका लागि आगामी दिनमा पनि यस्ता सकारात्मक र चेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।