आज स्ववियु निर्वाचन,विवादका कारण धेरै क्याम्पसमा निर्वाचन स्थगित,२१ वटा क्याम्पसमा एमाले अखिल विजयी

काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’को चुनाव भइरहेको छ । विवादका कारण धेरै क्याम्पसहरुमा चुनाव हुन सकेन । आठ वर्षपछिको आजको चुनाव राजधानी र बाहिरी जिल्लामा समेत कुनै उत्साह देखिएन ।

प्रमुख क्याम्पसहरुमा तालाबन्दी भएका कारण चुनाव खल्लो भएको हो । राजधानीमा प्रमुख क्याम्पसहरु कीर्तिपुर, शंकरदेव, आरआर, त्रिचन्द्र, पीके, मीनभवन, नेपाल ल क्याम्पस लगायत चर्चित कलेजहरुमा कतै पनि चुनाव छैन ।

पुल्चोक, थापाथली, सानोठिमी, कोटेश्वर लगायतका क्याम्पसमा मात्रै मतदान भइरहेको छ ।

बिराटनगरका तीनवटा क्याम्पसमा तालाबन्दी छ ।

बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मधेसी मोर्चा आवद्ध विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । त्यस्तै बिराटनगरकै डिग्री क्याम्पस र कोशी नर्सिङ क्याम्पसमा पनि मधेसी मोर्चा आवद्ध विद्यार्थीले नै तालाबन्दी गरेका छन् ।
उर्लाबारी क्याम्पसमा संघीय समाजवादी फोरम आवद्ध विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ र मतदान सुरु भएको छ । त्यसैगरी कोशी हरैंचा नगरपालिकामा अवस्थित सुकुना क्याम्पसमा पनि स्ववियु चुनाव हुने भएको छ । विप्लव माओवादी निकट विद्यार्थी संगठनले लगाएको ताला खोल्ने सहमति भएको छ र मतदान सुरु भएको छ ।
सदरमुकाम बाहिरका पथरी बहुमुखी क्याम्पस र लेटाङ क्याम्पसमा पनि मतदान सुरु भएको छ ।
बुटवलमा चुनावी सरगर्मी बढ्नुको साटो क्याम्पसहरु सुनसान देखिएका छन् । धेरै क्याम्पसहरुमा स्थानीय बिदा दिइएको छ ।
पश्चिमाञ्चलको दोस्रो ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । लुम्बिनी वाणिज्य क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पस,राममणि क्यानम्पस,पक्लिहवा कृषि क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुको असन्तुष्टिका कारण चुनाव बिथोलिएको छ ।

निर्वाचनको मुखैमा मंगलबार बेलुका राममणि क्याम्पसमा एमाले अखिलले तालाबन्दी गरेपछि सो क्याम्पसमा पनि निर्वाचन बिथोलिएको छ ।
अहिले रुपन्देहीको मणिग्राममा रहेको सरस्वती संस्कृत विद्यापीठमा मात्र स्ववियु निर्वाचन भैरहेको छ । सो विद्यापीठमा ६९ जना मात्रै मतदाता रहेको चूडामणि डुम्रेले बताए ।

त्यसैगरी रुपन्देहीको फर्साटिकरमा रहेको यज्ञोदय बहुमुखी क्याम्पसमा पनि निर्वाचन भइरहेको छ ।

पोखरामा ५ वटा क्याम्पसमा चुनाव हुँदैछ । तर, सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पस भने तालाबन्दीका कारण चुनाव रोकिएको छ ।
पोखराको वनविज्ञान अध्ययन संस्थान, विन्दवासिनी संस्कृत विद्यापीठ, पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, जनप्रिय क्याम्पस र नर्सिङ क्याम्पसमा निर्वाचन हुँदैछ ।

बुधबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जारी छ । 

हालसम्म ६१ मध्ये २२ क्याम्पसमा चुनाव भइरहेको त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले जानकारी दिइन् । त्यस्तै केही सम्बन्धनप्राप्त सामुदायिक कलेजहरुमा पनि निर्वाचन भइरहेको छ । तीमध्ये केही क्याम्पसमा निर्वाचनको परिणाम आइसकेको छ । परिणाम आएकामध्ये २१ वटा क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले विजयी हासिल गरेको संगठनका प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए ।

उनले अधिकांश ठूला कलेजमा नेविसंघ र विप्लवसमर्थित विद्यार्थी संगठनका कारण चुनाव हुननसेको आरोप पनि लगाए । 

अनेरास्ववियुले हालसम्म विजय हासिल क्याम्पसहरू
१) पाटन बहुमुखी क्याम्पस, बैतडी– अध्यक्ष, महेशप्रसाद भट्ट 
२) सल्यान बहुमुखी क्याम्पस, सल्यान– अध्यक्ष, रामबहादुर खत्री 
३) मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन बस्याल
४) शान्ती क्याम्पस, बझाङ –अध्यक्ष, ईश्वर सिंह 
५) खापरदेव क्याम्पस, बझाङ– अध्यक्ष, पूजा कार्की
६) सेती क्याम्पस, बझाङ– अध्यक्ष, बिमला अवस्थी
७) आदर्श बहुमुखी क्याम्पस, धादिङ– अध्यक्ष, रुपक गिरी
८) हनुमन्तेश्वर क्याम्पस, दोलखा– अध्यक्ष, सन्तोष दाहाल 
९) खोटाङ क्याम्पस, खोटाङ– अध्यक्ष, सन्तोषी फुयाल
१०) सिमपानी क्याम्पस, खोटाङ– अध्यक्ष, रोशन पोखरेल
११) कानपुर क्याम्पस, काभ्रे– अध्यक्ष, सुनिता तामाङ 
१२) उद्ध–बुद्ध बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन आचार्य 
१३) अमरदिप क्याम्पस, सुर्खेत– अध्यक्ष, हरि देवकोटा
१४) सिद्धदेवी क्याम्पस, पाँचथर– अध्यक्ष, रविन सम्वाहाम्फे लिम्बू
१५) काठमाडौं कुलेश्वर क्याम्पस, काठमाडौं– अध्यक्ष, सुशील गिरि
१६) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– अध्यक्ष, कमला पन्त
१७) खप्तड आदर्श क्याम्पस, डोटी– अध्यक्ष, रमेश पचेरा
१८) बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– अध्यक्ष, केशरबहादुर भाट
१९) अन्नपूर्ण क्याम्पस कार्किनेटा, पर्वत– अध्यक्ष, हिमाल श्रेष्ठ
२०) जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– अध्यक्ष, रबिन बानियाँ गुरुङ
२१) जनक क्याम्पस, काभ्रे– अध्यक्ष, सरला दाहाल