नेप्सेमा १२ अङ्कको गिरावट, कारोबार रकम भने झण्डै ४ अर्ब पुग्यो
काठमाडौँ, ७ जेठ । अघिल्लो दिन उच्च अङ्कले बढेको सेयर बजारमा बिहीबार भने ‘करेक्सन’ देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १२.३६ अङ्कले घटेर २७४२ को विन्दुमा कायम भएको छ ।
परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । बुधबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा आज ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजार सुरु भएदेखि नै उतारचढावका बीच अन्ततः रातो अङ्कमा बन्द भयो ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये ७२ वटाको मूल्य बढेको छ भने १८८ वटाको घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज सबैजसो समूहका सूचकहरू ओरालो लागेका छन् । यद्यपि, सबै उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको नेप्सेले जनाएको छ ।
क्षेत्रगत रूपमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ०.८६ प्रतिशतले घट्यो । यस्तै, हाइड्रोपावर ०.६८, बैंकिङ ०.५७, माइक्रोफाइनान्स ०.५० र निर्जीवन बीमा ०.४२ प्रतिशतले घटेका छन् । व्यापार समूहको सूचक भने आज स्थिर रह्यो ।
आज बुङ्गल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.१८ प्रतिशत नाफा कमाएका छन् । मूल्य धेरै बढ्ने सूचीमा आज विभिन्न बैंक तथा वित्तीय संस्थाका डिबेन्चर (ऋणपत्र) हरू अग्रस्थानमा रहे ।
यता, अघिल्लो दिन सकारात्मक सर्किट लागेको अप्पर लोहोरे खोला हाइड्रोपावरको मूल्यमा आज भने भारी गिरावट आयो । यसको सेयर मूल्य १४.९५ प्रतिशतले घटेको छ । यस्तै झापा इनर्जी ८.१२, माउन्टेन हाइड्रो ७.४० र सिटी होटलको मूल्य ३.८० प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । यसका साथै रिडी पावर, बुङ्गल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स धेरै कारोबार हुने शीर्ष पाँच कम्पनीको सूचीमा परेका छन् ।