विद्युत् नियमन आयोगमा नयाँ नेतृत्वको खोजी: अध्यक्ष र चार सदस्यका लागि खुला प्रतिस्पर्धा

काठमाडौँ, ७ जेठ । सरकारले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारीहरूको पदपूर्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

मन्त्रालयका अनुसार रिक्त चार सदस्य पदमध्ये एक पद महिलाका लागि आरक्षित गरिएको छ। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (जेठ २१ गतेभित्र) मन्त्रालयको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा आफ्नो आवेदन बुझाउनुपर्नेछ।

यसअघि कार्यरत अध्यक्ष र सदस्यहरू ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि स्वतः पदमुक्त भएका थिए। सोही कारण केही समयदेखि नेतृत्वविहीन बनेको आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि सरकारले यो प्रक्रिया थालेको हो।

पदाधिकारी छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित उक्त समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिशनारायण जोशी सदस्य रहनुभएको छ।

विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ मा भएको व्यवस्थाबमोजिम यो नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। आवेदकले ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यता र सम्बन्धित क्षेत्रको अनुभवको मापदण्ड पूरा गरेको हुनुपर्नेछ।