तत्कालका लागि मेची–महाकाली अभियान स्थगित गर्न (एमाले) लाई प्रमको अपिल

maitrinews

 

काठमाडौँ । सोमबार सप्तरीमा भएको घटनालगायत समसामयिक राजनीतिक विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), सरकारमा सहभागी नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकमा सप्तरी घटनापछिको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रेस सल्लाहकार आचार्यका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सप्तरी घटनापछि मधेसी मोर्चाको आन्दोलन र ज्ञापनपत्रबारे दुई दललाई जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार भएको घटनापछि मधेसमा असहज परिस्थिति सिर्जना भएको भन्दै तत्कालका लागि मेची–महाकाली अभियान स्थगित गर्न (एमाले) लाई अपिल गर्नुभएको प्रेस सल्लाहकार आचार्यले बताउनुभयो ।

सो अवसरमा नेकपा (एमाले) का नेताले सप्तरीमा गरेको कार्यक्रममा षड्यन्त्र भएको भन्दै अभियान अवधिभर सुरक्षाको माग गरेका थिए ।

बैठकमा ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री विमलेन्द्र निधि, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

आजै नेकपा एमाले नेतृत्वले प्रधानमन्त्री दाहाललाई भेटी सप्तरी घटनाबारे न्यायिक छानबिन गर्न माग गर्दै हिंसात्मक घटना हुनुमा आफ्नो पार्टीको कुनै हात नरहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति २६ फागुन ।