नेदरन्यान्ड र टर्कीबीच कूटनीतिक तनाव

maitrinews

नेदरन्यान्ड । डच सरकारले दुई जना आफ्ना मन्त्रीहरुलाई रोटरड्यामको एउटा र्यालीमा सम्बोधन गर्न बन्देज लगाएपछि नेदरल्याण्डस र टर्कीबीच कूटनीतिक तनाव थप बढेको छ।
डच प्रहरीले टर्कीकी परिवार मामिला सम्बन्धी मन्त्रीलाई आफ्नो महावाणिज्य दूतावास नजिकै आयोजना हुने भनिएको र्याली स्थलमा जान रोक लगाएको थियो।
त्यसअघि सुरक्षाका कारण देखाउँदै टर्कीका विदेशमन्त्रीलाई उक्त र्यालीमा भाग लिन नेदरल्याण्डस नआउन भनिएको थियो।
टर्कीका राष्ट्रपति रेजेप ताइप एर्दोआनको शक्ति बढाउने गरी आगामी महिना हुन लागेको जनमत संग्रहमा नेदरल्याण्डसमा बसिरहेका टर्कीशहरुको समर्थन जुटाउन उक्त कार्यक्रम गर्न लागिएको थियो।
तनाव
टर्कीका विदेशमन्त्री मेभलुट च्याभुशोलुले नेदरल्याण्डसमा एउटा र्यालीलाई सम्बोधन गर्ने भनिएपनि सुरक्षाको कारण देखाउँदै त्यहाँको सरकारले उक्त कार्यक्रम रद्ध गरिदिएको थियो।
कार्यक्रम रद्ध गरिएपछि टर्कीले क्रुद्ध प्रतिक्रिया दिएको छ।
उसले अन्कारास्थित डच कार्यवाहक राजदूतलाई बोलाएर स्पष्टीकरण पनि सोधेको छ।