प्रदेश नम्बर २ मा सुरक्षा चुनौती,प्रधानसेनापति क्षेत्रीको तराई भ्रमण अर्थपूर्ण

 

काठमाडौँ । स्थानीय निर्वाचन घोषणा भएपछि प्रदेश नम्बर २ मा सुरक्षा चुनौती थपिएको विश्लेषण भैरहेको बेला प्रधानसेनापति राजेन्द्र छेत्री दुई दिने प्रदेश भ्रमणमा धनुषा पुग्नुभएको छ । प्रधानसेनापति क्षेत्रीले धनुषास्थित नेपाली सेनाको गोरखनाथ गणको बार्षिकोत्सव अवलोकन गरी त्यहाँको सुरक्षास्थिति र सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिनुभयो ।
सेनापति छेत्रीले सप्तरी र सर्लाहीको पनि भ्रमण गर्नुभयो। सुरक्षा स्रोतका अनुसार, सेनापतिको भ्रमण प्रदेशको अवस्था बुझ्ने, पृथकताबादी क्रियाकलापको सुक्ष्म अध्ययन गर्न सम्बन्धित गणहरुलाई निर्देशन दिने लगायतका कार्यक्रममा केन्द्रित थियो । सर्लाहीको रणशेर गण र सप्तरीको बन तथा पर्यावरण गणमा पुगी सुरक्षा अवस्थाको जानकारी लिएर सेनापतिले आवश्यक निर्देशन दिनुभयो । सप्तरीमा उहाँले एमालेको मेची–महाकाली अभियानका क्रममा भएको आक्रमण र त्यसबाट उत्पन्न असहज परिस्थितिका सम्बन्धमा पनि चासो व्यक्त गर्नुभयो ।

प्रधानसेनापति क्षेत्रीले गणपतिहरूसँग मधेसमा संविधान संशोधनको माग गर्दै भइरहेका प्रदर्शन, भूमिगत समूहको सक्रियता, सीके राउतका कार्यकर्ताको गतिविधिलगायत विषयमा जानकारी लिएको स्रोतले बतायो । गणपतिहरूले उहाँलाई सप्तरी र धनुषाको सुरक्षास्थिति र सम्भावित सुरक्षा चुनौतीबारे बिफ्रिङ गरेका थिए । उहाँले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन सुरक्षा चुनौतीबारे समेत चासो राख्नुभयो ।

फागुन १० गते जंगी अड्डामा बसेको पृतनापति बैठकमा सेनाले राजनीतिक अस्थिरता र केही बिखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको थियो । सेनाले मुलुक विखण्डन गर्ने हतियार उठाएर सामाजिक सद्भाव र सहिष्णुता विथोल्ने गतिविधि सामना गर्न तयार रहेको बताउँदै आएको छ ।
प्रधानसेनापतिको तराइ भ्रमण वैशाख ३१ गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनलाई लिएर आउन सक्ने सुरक्षा चुनौतीसँग पनि सम्बन्धित रहेको स्रोतले बतायो ।