डेङ्गी नियन्त्रणका लागि काठमाडौँ महानगरले १६ सय ५० प्रशिक्षित जनशक्ति परिचालन गर्ने

काठमाडौँ,  असार १२ । काठमाडौँ महानगरपालिकाले वर्षायामको सुरुवातसँगै डेङ्गी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १६ सय ५० जना प्रशिक्षित जनशक्ति परिचालन गर्ने भएको छ । महानगरको स्वास्थ्य विभागले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघसंस्थाका प्रतिनिधिलाई विशेष तालिम दिएर अभियानमा खटाउन लागेको हो ।

महानगरको रणनीति अनुसार, पहिलो चरणमा स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीहरूको क्षमता विकास गरिनेछ । त्यसपछि, उनीहरूले प्रत्येक वडामा ५० जनाका दरले महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति र आमा समूहका प्रतिनिधिहरूलाई प्रशिक्षण दिनेछन् । यसरी तयार पारिएको जनशक्तिले वडाका विभिन्न स्थानमा पुगेर डेङ्गी सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नेछ ।

स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. ले रोग नियन्त्रणका लागि व्यक्ति र परिवारको तहबाटै जिम्मेवारी पूरा गरेमा मात्रै सफलता प्राप्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेदेखि नै प्रतिकार्य सुरु गर्न सकियो भने विगतको तुलनामा संक्रमण दरलाई निकै कम गर्न सकिन्छ ।”

महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालका अनुसार, विगतका सिकाइ र अनुभवलाई प्रयोग गर्दै यस वर्षको अभियानलाई थप प्रभावकारी बनाइनेछ । अभियानको मुख्य उद्देश्य संक्रमण र मृत्यु दर घटाउनु, कीट नियन्त्रण गर्नु, र समुदायमा जोखिम सञ्चार प्रवाह गर्नु रहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय काठमाडौँका अधिकारीहरूले यस अभियानका लागि प्राविधिक सहयोग र रणनीतिक मार्गदर्शन गरिरहेका छन् । सामान्यतया साउनदेखि फैलिन सुरु गर्ने डेङ्गी कात्तिक र मंसिर महिनामा उच्च विन्दुमा पुग्ने भएकाले महानगरले असारदेखि नै पूर्वतयारी थालेको हो ।

महानगरपालिकाले एडिस जातको लामखुट्टेले सफा पानी जमेको ठाउँमा अण्डा पार्ने भएकोले घर वरपरका खाल्डाखुल्डी पुर्न, टायर, गमला, कौसी र बरण्डामा पानी जम्न नदिन नागरिकहरूलाई अपिल गरेको छ । कडा ज्वरो आउने, आँखाको गेडी दुख्ने, मांसपेशी र हाडजोर्नी दुख्ने तथा शरीरमा विमिरा आउने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउन समेत स्वास्थ्य विभागले आग्रह गरेको छ ।