राजधानीको काखमै ‘नो नेटवर्क जोन’: सञ्चार अभावले दक्षिण ललितपुरमा विपद्को जोखिम बढ्दो
ललितपुर, १२ असार । मुलुकको राजधानी काठमाडौँसँगै जोडिएको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका बासिन्दाहरू अझै पनि आधारभूत सञ्चार सुविधाबाट वञ्चित रहेका छन्। प्रविधिको युगमा विश्व जोडिरहँदा यहाँका अधिकांश बस्तीमा मोबाइलको सिग्नल खोज्न डाँडाकाँडा धाउनुपर्ने बाध्यता कायमै छ।
सञ्चार सेवाको कमजोर पहुँचका कारण स्थानीयले दैनिक कामकाज मात्र होइन, आकस्मिक र संकटपूर्ण अवस्थामा समेत ठूलो सास्ती खेप्नुपरेको छ।
महाङ्काल गाउँपालिकाका साविकका बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ क्षेत्रका धेरैजसो बस्तीमा नेपाल टेलिकम लगायतका सेवा प्रदायकको नेटवर्क अत्यन्तै कमजोर छ। स्थानीयका अनुसार घरभित्र बसेर फोन गर्न असम्भव जस्तै छ। इन्टरनेट चलाउन त टाढाको कुरा, एउटा सामान्य ‘कल’ गर्नका लागि पनि अग्ला डाँडा वा खुल्ला चौरमा निस्कनुपर्ने अवस्था छ।
“स्थानीयले वर्षौँदेखि सञ्चार समस्याबारे गुनासो गरिरहेका छन्,” गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी भन्छन्, “नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित निकायमा पटक-पटक पहल गर्दा पनि हाम्रो मागको सुनुवाइ भएको छैन।”
मनसुन सुरु भएसँगै दक्षिण ललितपुरमा बाढी र पहिरोको जोखिम उच्च छ। तर, सञ्चार विच्छेदका कारण समयमै सूचना आदानप्रदान हुन नसक्दा धनजनको ठूलो क्षति हुन सक्ने त्रास बढेको छ। गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेका अनुसार सञ्चारको अभावले विपद् व्यवस्थापन र स्वास्थ्य सेवामा गम्भीर असर पुर्याएको छ।
“वर्षायाममा बाटो बन्द हुने वा पहिरो जाने खतरा रहन्छ, यस्तो बेला एम्बुलेन्स बोलाउन वा उद्धारका लागि खबर गर्न समेत फोन लाग्दैन,” उपाध्यक्ष गोलेले भनिन्, “गाउँपालिकाको केन्द्र गोटिखेलमै त सञ्चारको समस्या छ भने दुर्गम वडाका बस्तीको अवस्था झन् कस्तो होला?”
सरकारले सबै सेवालाई डिजिटल बनाउने नीति लिए पनि भौतिक पूर्वाधार (नेटवर्क) को अभावले महाङ्काल गाउँपालिकाको प्रशासनिक कामकाज समेत प्रभावित भएको छ। फाइबर इन्टरनेटको विस्तार नहुँदा र विद्युत् जाँदा मोबाइल नेटवर्क समेत बन्द हुँदा सिफारिस तथा अन्य सरकारी कागजात पठाउन समस्या हुने गरेको जनप्रतिनिधिहरू बताउँछन्।
कृषि र वैदेशिक रोजगारीमा आधारित अर्थतन्त्र रहेको यस क्षेत्रका बासिन्दाहरू आफ्ना आफन्तसँग कुरा गर्न समेत सञ्चारकै भर पर्नुपर्छ। आधुनिक जीवनशैली र विकासका सम्भावनाहरू सञ्चार पूर्वाधारकै अभावले खुम्चिएका छन्। दक्षिण ललितपुरका यी ग्रामीण बस्तीहरूमा यथाशीघ्र मोबाइल टावर थप्न र फाइबर नेटवर्क विस्तार गर्न स्थानीयले माग गरेका छन्।