व्यापार सहजिकरणमा जोड

नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष हिमबहादुर रावलले नेतृत्व गर्नुभएको एक प्रतिनिधिमण्डलले आज मंगलबार अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाललाई उनकै कार्यकक्ष सिंहदरबारमा भेटी राजस्व क्षेत्रका विभिन्न विषयमा छलफल गरेको छ ।
भेटका अवसरमा अध्यक्ष रावलले सरकारले लागू गर्न लागेको आयात–निर्यात कोडको व्यवस्थालाई स्वागतयोग्य कदम भन्दै संघले आयात–निर्यात कोड लिन आफ्ना सदस्य लगायत सम्पूर्ण आयात–निर्यातकर्ता व्यापारीलाई आग्रह गरेको जानकारी गराए । आयात–निर्यात कोड लागू भएपछि भन्सार कर्मचारीले व्यवसायीप्रति सहयोगी भूमिका खेल्नेमा आफूहरु आशावादी रहेको उनको भनाइ थियो ।
अध्यक्ष रावलले कोड लागू भएपछि आयातका प्रक्रियाहरु सरल बनाउन, एलसी बाहेकको आयातमा हरेकपटक वाणिज्य काउन्सिलर कलकत्ताको लागि वाणिज्य विभागबाट अनुमति लिनुपर्ने व्यवस्था र हाल वाणिज्यमा एलसी बाहेकका डकुमेन्टमा प्रत्येक डकुमेन्टपछि दाखिला गनुपर्ने कागजात र सोमा लाग्ने शुल्क खारेज गर्नुपर्नेमा जोड दिए । आयात–निर्यात कोड लिइसकेको व्यापारिक फर्मले आयात गरेको सामान भन्सारबाट जाँचपास भइसकेपछि सो सामान बोकेको कन्टेनर कसैले चेकजाँच गर्न नपाउने व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।
आयात–निर्यात कोडबारे सचेतना जगाउन सरोकारवालालाई समेटेर सरकारले विभिन्न चरणमा अन्तक्र्रिया कार्यक्रम गर्नुपर्ने संघको सुझाव छ । साथै ख्यातिप्राप्त कम्पनीले नेपालका लागि आधिकारिक वितरक नियुक्त गरेको अवस्थामा उक्त सामान सोही कम्पनीबाहेक अन्यत्रबाट आयात गर्न दिन नहुने जोड दिँदै संघले कतिपय ब्रान्डेड सामान नक्कली आयात भइरहेकोले सो व्यवस्था आवश्यक रहेको बताएको छ ।
जवाफमा सचिव खनालले उक्त कोड लिएपछि वास्तविक व्यवसायीको पहिचान गर्न सजिलो हुने र त्यस्ता व्यवसायीलाई सम्मानजनक व्यवहार गर्न सजिलो पर्ने बताउनुभयो । एउटा कम्पनीबाट एकपल्ट सामान आयात गरेपछि त्यो कम्पनी नै छाडेर अर्को खोल्ने लगायत व्यापारिक क्षेत्रका विकृति न्यूनीकरणमा यसले सघाउ पु¥याउने उहाँको भनाइ थियो । आयात–निर्यात कोड अनिवार्य गरेपछि वास्तविक व्यापारी मात्रै बजारमा रहने हुँदा नियमन गर्न पनि सजिलो हुने उनले बताए । यसबारे व्यापारी व्यवसायीमा सचेतना जगाउन संघ लगायत निजी क्षेत्रका सरोकारवालासँग मिलेर अघि बढ्ने पनि उनले बताए ।
प्रतिनिधिमण्डलमा अध्यक्ष रावलसहित, उपाध्यक्ष विनोदकुमार सेठिया, महासचिव शिवकुमार अग्रवाल, सचिवद्वय अनिलकुमार अग्रवाल र सुशिल गुप्ता, कोषाध्यक्ष कुमार कार्की र कार्यसमिति सदस्यहरु खगेन्द्र सिटौला, आकाश गोल्छा, गौरव शारडा, रामचन्द्र खेतान, गोविन्द संघई र मदन मित्तल सहभागी थिए ।
प्रकाशित मिति चैत्र १ गते ।