राजापुर र टिकापुरमा एमालेका भव्य जनसभा सम्पन्न, प्रचण्ड सरकार देशका लागि बोझ : खनाल

 

काठमाडौँ । नेकपा (एमाले) ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज बर्दियाको राजापुर र कैलालीको टिकापुरमा भव्य सभाहरु सम्पन्न भएका छन् । थारुलगायतका जनसमुदायले आ–आफ्नो भेषभुषा र परम्परा अनुसारका सांस्कृति झाँकीहरुमार्फत स्वागत गरेका थिए ।
राजापुरको सभालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष वामदेव गौतमले विगतमा माओवादीले अघि सारेका गलत नीतिहरुको शिकार सिंगो राष्ट्र भएको चर्चा गर्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, जातका आधारमा राज्य बनाउने विष माओवादीले रोपेका कारण देशभित्र झगडा हुने स्थिति बन्यो । त्यसलाई केही हदसम्म सच्याएर मुलुकलाई रुवान्डा बनाउने षड्यन्त्रलाई चिरिएको छ । अब पनि त्यस्तो हुन दिइने छैन ।’
कार्यक्रममा पोलिट्ब्युरो सदस्य नागेन्द्र चौधरीले प्रदेश नम्बर दुई निर्माण गर्दा पहाडी भूभाग नराखिएका कारण मधेसी जनता प्राकृतिक स्रोतहरुबाट विमुख हुन पुगेको चर्चा गर्दै आगामी दिनमा त्यस प्रदेशलाई पनि पहाडसँग जोड्न कोसिस हुने बताउनुभयो ।
टिकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता झलनाथ खनालले भन्नुभयोः
एकताबद्ध भएर राष्ट्रलाई एकताबद्ध बनाउनुपर्ने अवस्था आएको छ । यदि त्यो काम कसैले गर्न सक्छ भने एमालेले मात्र गर्न सक्छ । गरिबी, बेरोजगारी, अभाव, विभेद र अविकास हटाउने काम एमालेले मात्र गर्न सक्छ ।
मधेसी मोर्चाले हामीलाई जुलुश र सभा गर्न दिन्न भन्दैछ । यो अधिकार उसलाई कसले दियो ? राजविराजमा हामीमाथि भएको आक्रमण सुनियोजित छ । सभा रोक्नका लागि अनेक प्रयत्न भए पनि हजारौँ जनता सहभागी भएबाट मोर्चाका मानिसहरु आत्तिएका छन् ।
राजविराजमा पाँच जना मानिसको ज्यान जानुमा मधेसी मोर्चा जिम्मेवार छ । शान्तिपूर्ण कार्यक्रम विथोल्नका लागि मान्छे उचालेका कारण रक्तपात भएको छ । गत भदौमा टिकापुरमा रक्तपात मच्चाउने तत्वहरु पनि तिनै हुन् । यस्ताबाट सावधान रहनुपर्छ । टिकापुर घटनाको न्यायिक जाँचबुझ हुनुपर्छ ।
वर्तमान सरकार देशलाई बोझ बनेको छ । सुशासन दिन सकेको छैन, विकासलाई अघि बढाउन सकेको छैन, बल्लतल्ल निर्वाचन घोषणा गरेको छ । एमालेको दवावका कारण बाध्य भएर निर्वाचन घोषणा गरे पनि आलटाल गर्ने काम गरिरहेको छ । निर्वाचन हुनासाथ एमाले सत्तामा आउँछ भन्ने यिनीहरुलाई डर छ ।
नेपाललाई बलियो भएको देख्न नचाहनेहरु संविधानको विपक्षमा छन् । कार्यान्वयन नै नगरी संविधान संशोधनको बखेडा झिकिएको छ । ६६ प्रतिशतको समर्थनमा बनेको भारतको संविधान आजसम्म चलिरहेको छ । विरोधमा रहेका ३४ प्रतिशतले संविधान संशोधनको आवाज उठाउँदा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अहिले हुँदैन, लोकसभा निर्वाचनपछि गरौँला भनेका थिए ।
पार्टीका उपाध्यक्ष तथा सात नम्बर प्रदेशका संयोजक भीम रावलले संविधानका प्रतिमा आगो लगाउनेहरुले करोडौँ नेपाली जनताको मनमा आगो लगाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कञ्चनपुरमा नेपाली नागरिक मारिँदा मधेसका लागि काम गरेका छौँ भन्ने मधेसी नेताहरु बोलिरहेका छैनन् । उनीहरुको घाँटी केले अँठ्याइरहेको छ ? किन एक शब्द बोल्न सकिरहेका छैनन् ?’ स्थानीय निर्वाचन हुन नदिने, नेपाललाई समृद्ध हुन नदिने, सामाजिक सद्भाव कायम हुन नदिने जस्ता काम गर्नुका पछाडि नेपाललाई असफल बनाउने कोसिसबाहेक अरु केही नभएको स्पष्ट पार्नुभयो । दुई नम्बर प्रदेशमा चुनाव हारेका व्यक्तिहरु आएर गत वर्ष टिकापुर काण्ड मच्चाएको स्मरण गर्दै उपाध्यक्ष रावलले त्यस्ता घटनाबाट पनि मुलुकको सामाजिक सद्भाव विथोल्न को सक्रिय छ भन्ने बुझ्न जरुरी रहेको बताउनुभयो ।

पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा पूर्वसांसद हनुमान चौधरीले भूमिपुत्रहरुको पार्टी एमालेलाई थारुविराधीका रुपमा चित्रित गर्न खोजिएकोमा आपत्ति प्रकट गर्दै थारुहरुको अधिकारका लागि एमालेले जति कुनै पनि पार्टी संवेदनशील नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कागले कान लग्यो भन्दैमा कागको पछाडि दौडिनु हुँदैन, आफ्नो काम छाम्नुपर्छ । एमाले सधैँ थारुका पक्षमा छ, थारु एमालेका पक्षमा छन् । सोझा जनतालाई भड्काएर आफ्नो दुनो सोझ्याउनका लािग गलत तत्वले खेलिरहेका छन् । त्यसलाई चिर्नुपर्छ ।’
उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विकले दलितहरुलाई संवैधानिक र व्यावहारिक अधिकार दिलाउनका लागि एमाले निर्णायक भूमिका निर्वाह गरेको र एमाले सरकारमा भएको बेला जातीय विभेद हटाउन उल्लेख्य काम भएको विवरण प्रस्तुत गर्नुभयो । दक्षिण एसियामा सविधानमै दलितलाई पहिचान र अधिकार दिन नेपाल सफल हुनुमा एमालेको नेतृत्वले काम गरेको बताउनुभयो ।
कांग्रेस, माओवादी, थरुहटलगायतका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने सयौँ जनालाई टिका लगाएर स्वागत गरिएको थियो ।
नेकपा (एमाले) सात नम्बर प्रदेश संगठन कमिटीका सहसंयोजक कर्णबहादुर थापाको अध्यक्षता र केन्द्रीय सदस्य गरिमा शाहको सञ्चालनमा आयोजित सभामा सहभागीहरुलाई कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले स्वागत गर्नुभएको थियो ।

चैत २ गते ।