मधेसी मोर्चाबाट संसद् बैठक बहिष्कार

maitrinews

 

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठकमा भाग लिनु भएन ।

सभामुख ओनसरी घर्तीले सदनको आजको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आआफ्ना स्थानबाट उठ्नुभएको थियो । सो क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले ‘राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले’ मधेसका जनतामा आक्रोश आएको आरोप लगाउनुभयो ।

उहाँले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने जनाउँदै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गर्नुभयो । सांसद यादवले आफ्नो भनाइ समाप्त गरेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु सदनको आजको बैठकबाट बाहिरिनु भएको थियो ।

चैत ६ गते ।