श्रीलंकाली क्रिकेटर काठमाडौँ आउँदै

 

काठमाडौँ । सुदूरपश्चिममा डीपीएल सकिएलगत्तै राजधानी काठमाडौंमा श्रीलंकाली ‘लिजेन्ड’ र अहिलेका चर्चित खेलाडीहरू आउने भएका छन् । उनीहरूले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग तीन ट्वान्टी–ट्वान्टी खेल खेल्ने भएको छ ।

पेरिविंकल सर्भिसले आयोजना गर्न लागेको शृंखलामा वान डे विश्वकप ९सन् १९९६० च्याम्पियन श्रीलंकाली टिमका सनथ जयसूर्या, अरविन्द डी सिल्भा, रोमेश कालुविथरना, चामिन्दा भाससहित पुराना क्रिकेटर उपुल चन्दना, फरवेज महारुफ, दिलहारा फर्नान्डो, कौशल्या वैरारत्ने लगायत पनि हुनेछन् । भर्खरै बंगलादेशसँग १–१ को बराबरीमा टुंगिएको टेस्ट शृंखलामा श्रीलंकाको कप्तानी गरेका रंगना हेराथ, वान डेको कप्तानी सम्हालिसकेका उपुल थारंगासहित दिलसान मुनावेरा, सचित्रा सेनानायके र चामरा सिल्भाले पनि पाहुना टिमबाट खेल्ने पेरिविंकल सर्भिसका प्रमुख कार्यकारी अधिकृत दीपेश घलेले बताए ।

‘उनीहरूको सहभागिता निश्चित भइसकेको छ,’ यहाँ आयोजित पत्रकार सम्मेलनमा घलेले भने, ‘उनीहरूले नेपाली राष्ट्रिय टिमसँग तीन ट्वान्टी–ट्वान्टी खेल खेल्ने छन् ।’ खेल वैशाख १४, १६ र १८ गते त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित मैदानमा हुने बताइएको छ ।