नयाँ संशोधन प्रस्तावप्रति मोर्चाको असहमति, स्थानीय निर्वाचन बहिष्कार गर्ने निर्णय
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा भाग नलिने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा जाने निर्णय गरेको छ । संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै मोर्चाले यस्तो निर्णय गरेको हो ।
तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकनलाई सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको छ । सरकारले यो विधेयक मोर्चासँगको समझदारीमा ल्याएको दाबी गरे पनि मधेसवादी घटकहरुले त्यो कुरा अस्वीकार गर्दै मोर्चा शीर्ष नेता र सत्तारुढ दलबीचको कार्यदलमा भएको समझदारीभन्दा विधेयकमा फरक देखिएको मोर्चाले ठहर गरेको छ । बैठकले निर्वाचन बहिष्कार गर्ने लगायत आन्दोलन समेत घोषणा निर्णय गरेको छ ।तराई मधेस लोकतात्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले मोर्चा र सङ्घीय गठबन्धनले सरकारसमक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे मागअनुसार संविधान संशोधन गरी मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने निर्णय गरेको छ ।
अध्यक्ष यादवले मोर्चा र गठबन्धनले उठाएका मुद्दा सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने बताउनुभयो । बैठकले यही चैत ३१ गते सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।
बैठकमा तमलोपा अध्यक्ष महन्त ठाकुर, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) अध्यक्ष राजकिशोर यादवलगायत उपस्थित हुनुहुन्थ्यो ।
चैत ३० गते ।