घरदैलोको अस्पताल छाडेर टाढा पुग्छन् कैलालीका एचआइभी सङ्क्रमित

कैलाली, १४ असार । एचआइभी सङ्क्रमितहरूका लागि रोगभन्दा ठूलो पीडा समाजले हेर्ने ‘दृष्टिकोण’ बन्ने गरेको छ। समाजमा अझै पनि सम्मानजनक व्यवहार नहुँदा र पहिचान खुल्ने डरले कैलालीका सङ्क्रमितहरू आफ्नै गाउँ-ठाउँको स्वास्थ्य केन्द्र छाडेर औषधोपचारका लागि घण्टौँको यात्रा गरी टाढाको अस्पताल पुग्न बाध्य छन्।

आफ्नो पहिचान लुकाउन सङ्क्रमितहरूले गर्ने संघर्षको एउटा उदाहरण हुन्— लम्कीचुहाकी ७१ वर्षीया वृद्धा। उनको आफ्नै पालिकामा एआरटी (ART) सेन्टर छ, तर उनी सधैँ औषधि लिन टीकापुर अस्पताल पुग्छिन्। “श्रीमान् एचआइभीकै कारण बित्नुभयो, मलाई पनि सङ्क्रमण छ भन्ने थाहा पाए समाजले सरसापटी पनि दिँदैनन्,” उनले आफ्नो पीडा सुनाइन्, “त्यसैले आफन्तको घर जान्छु भन्दै ढाँटेर टीकापुरसम्म धाउने गरेकी छु।”

टीकापुर अस्पतालमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा अहिले ५३१ जना सङ्क्रमितले नियमित सेवा लिइरहेका छन्। रोचक कुरा के छ भने, यो केन्द्रमा टीकापुरका स्थानीयभन्दा छिमेकी पालिकाहरूबाट लुकेर आउनेको सङ्ख्या बढी छ।

अस्पतालको तथ्याङ्क अनुसार यहाँबाट सेवा लिनेमा: लम्कीचुहा नगरपालिका: १६२ जना, टीकापुर नगरपालिका: १३९ जना, जानकी गाउँपालिका: ८१ जना, मोहन्याल गाउँपालिका: ४४ जना, बर्दगोरिया र जोशीपुर: क्रमशः र ३३ जना ५२ रहेका छन् । यसबाहेक भजनी, घोडाघोडी तथा छिमेकी जिल्ला बर्दिया र सुर्खेतबाट समेत सङ्क्रमितहरू पहिचान जोगाउन टीकापुर आउने गरेका छन्। टीकापुरका कतिपय सङ्क्रमित भने औषधि लिन धनगढी वा अन्यत्र जाने गरेका छन्।

एड्स हेल्थ केयर फाउन्डेसन नेपालले सन् २०१२ देखि यस क्षेत्रमा सङ्क्रमितको उपचार र हेरचाहमा सघाउँदै आएको छ। एएचएफ नेपालका काउन्सिलर मीनबहादुर बोहराका अनुसार, सङ्क्रमितलाई अस्पतालसम्म आउन लाग्ने यातायात खर्चदेखि पोषण र स्वास्थ्य बिमासम्ममा संस्थाले सहयोग गरिरहेको छ।

“चालु आर्थिक वर्षमा मात्रै हामीले ८३५ जनालाई यातायात खर्च र ३१६ जनालाई पोषण सहयोग उपलब्ध गराएका छौँ,” बोहराले भने, “स्वास्थ्य बिमामा नसमेटिने औषधि खरिद गर्नुपर्ने २०१ जनालाई पनि हामीले आर्थिक सहायता दिएका छौँ।”

पहिचान खुल्ने डरसँगै सङ्क्रमितहरू आर्थिक संकट र कुपोषणको शिकार समेत भइरहेका छन्। मोहन्याल गाउँपालिकाकी ६८ वर्षीया एक सङ्क्रमित महिलाले भनिन्, “घरमा कमाउने कोही छैन, सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले पेट भर्नै पुग्दैन। हामी जस्ताका लागि मासिक पोषण सहयोगको व्यवस्था भए ठूलो राहत हुने थियो।”

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले सङ्क्रमितको अधिकार र उपचारका लागि एआरटी सेन्टरले राम्रो काम गरे पनि समुदायको सोच बदल्न अझै धेरै काम गर्न बाँकी रहेको बताए। “स्थानीय सरकारले उनीहरूलाई समाजमा पुनःस्थापना गर्न र आत्मनिर्भर बनाउन विशेष योजना ल्याउनुपर्छ,” पनेरुले जोड दिए।

सङ्क्रमितहरूलाई औषधिको मात्र होइन, समाजको माया र सम्मानको खाँचो छ। जबसम्म समाजले एचआइभीलाई अन्य सामान्य रोग सरह स्वीकार गर्दैन, तबसम्म सङ्क्रमितहरू यसरी नै लुकेर र डराएर उपचार लिन बाध्य भइरहनेछन्।