बाबरी मस्जिद काण्डमा भाजपाका नेता लालकृष्ण आडवाणीसहित १३ जनामाथि मुद्दा चलाउन सर्वोच्च अदालतको आदेश

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद भत्काएको विरोधमा दायर मुद्दालाई लिएर सत्तारुढ भारतीय जनता पार्टीका कयौं वरिष्ठ नेताहरुमाथि आपराधिक षडयन्त्रको मुद्दा चलाउन आदेश दिएको छ।
सन् १९९२मा भारतको अयोध्यामा बाबरी मस्जिद भत्काइएपछि हिन्दु र मुसलमान समुदायबीच भड्किएको हिंसामा करिब दुई हजार मानिसको ज्यान गएको थियो।
मुद्दा चलाउनु पर्ने भनिएकी बीजेपीकी एक नेतृ एवं वर्तमान सरकारकी एक मन्त्री उमा भारतीले आफूले कुनै षडयन्त्र नगरेको बताएकी छन्।
बाबरी मस्जिद प्रकरणमा आपराधिक षडयन्त्रको आरोपमा मुद्दा चलाउनु पर्ने भनी आदेश दिइएका १३ जना बीजेपी नेताहरुमा पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडबाणी र वर्तमान सरकारकी एक मन्त्री उमा भारतीको समेत नाम रहेको छ।
बीजेपीका नेताहरुले आफूमाथिको आरोप अस्वीकार गरेका छन्।
मन्त्री उमा भारतीले संवाददाताहरुसँग कुरा गर्दै आफूले कुनै आपराधिक षडयन्त्र नगरेको र बाबरी मस्जिद घटनाप्रति खेद प्रकट गर्नु आवश्यक नरहेको बताइन्।
अदालतले मुद्दालाई छरितो प्रक्रियाबाट अघि बढाएर दुई वर्षभित्र टुंग्याउन आदेश दिएको छ। १९९२को डिसेम्बर ६ तारिखमा विवादित रामजन्मभूमि बाबरी मस्जिद भत्काउन गरिएको भनिएको षडयन्त्र, त्यसपछि समुदायलाई भड्काउन गरिएका भाषण र पत्रकारहरुमाथि हमला सम्बन्धी मुद्दाहरु विगत २५ वर्षदेखि अदालतमा अड्किका थिए।
आरोप लागेका जम्मा ४९ आरोपी मध्ये २२ अभियुक्तविरुद्ध लखनऊमा र आठ आरोपीविरुद्ध रायबरेलीमा मुद्दा चलिरहेको थियो।
अन्य कतिपय अभियुक्त र साक्षी यति वृद्ध र कमजोर भइसकेका छन् कि उनीहरुले लखनऊको विशेष अदालतको तेस्रो तलासम्म उक्लन निकै कठिन हुन सक्छ,
वर्षौदेखि मुद्दा चल्दै गर्दा १० अभियुक्त र लगभग ५० जना साक्षीको मृत्यु भइसकेको छ।
वैशाख ७ गते ।