ठगीको साढे ४ लाख बिगो बुझाएपछि सेफ सन्तोष साह हाजिर जमानीमा रिहा

काठमाडौँ, २ असार । ठगीको कसुरमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह ठगी बराबरको बिगो रकम भुक्तानी गरेपछि हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सोमबार साँझ उनलाई हाजिर जमानीमा छाडिएको हो।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार साहले पीडित सकुन्तला अधिकारीलाई ठगी बराबरको ४ लाख ५० हजार रुपैयाँ बिगो बुझाएर सोको निस्सा (प्रमाण) प्रहरीमा बुझाएपछि उनलाई हाजिर जमानीमा छाडिएको हो। सकुन्तला अधिकारीको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई गत शुक्रबार जनकपुरबाट पक्राउ गरेको थियो।

यसैगरी, साहलाई बैंकिङ कसुरको अर्को मुद्दामा काठमाडौँ जिल्ला अदालतले गत जेठ ३० गते २५ लाख रुपैयाँ बिगो भएको मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। उक्त कसुरमा अदालतमा आफैँ हाजिर हुन जाने कानुनी म्याद अझै बाँकी रहेकाले तत्काल उनलाई कैद भुक्तानीका लागि कारागार नपठाइएको प्रहरीले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *