मुस्ताङमा समातिएकाे ७७५ वटा ‘बिवाइडी’ विद्युतीय गाडीमा ६४९ वटा गृह मन्त्रालयको केन्द्रीय निर्देशनमा छाेडियाे
काठमाडाैं, २ असार । मुस्ताङमा राजस्व छली र भन्सार प्रक्रियामा कैफियत भएको आशङ्कामा सशस्त्र प्रहरीले दुई अघि समातेकाे
बिवाइडी कम्पनीका चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) हरूलाई फुकुवा गरिएको छ। सरकारद्वारा गठित छानबिन समितिले गृह मन्त्रालयको केन्द्रीय निर्देशन अनुसार आइतबार साँझदेखि ती सवारीसाधनहरू फुकुवा गरिएका हुन्।
मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाइडी कम्पनीका कुल ७७५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ वटा गाडीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरिसकेको छ।
नाकाबाट ती सबै गाडीहरू साइमन ईंकले खरिद गरी आयात गरेको थियो। भन्सार प्रक्रियामा शङ्का उब्जेकाे र अर्थमन्त्री स्वर्णिम वाग्ले संलग्न रहेकाे भन्दै समाचार निस्किएपछि संसदमा राम्रै चर्चा भएका थिए । उक्त समाचार पछि संसदीय छानविन समिति नबनाइकन अर्थ मन्त्रालयले भन्सार विभागका मूल्याङ्कन शाखा प्रमुख निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिको टोलीले गत जेठ २१ गतेदेखि कास्की, पर्वत र मुस्ताङका विभिन्न स्थानमा पुगेर नियन्त्रणमा राखिएका सवारीसाधनको स्थलगत अनुसन्धान सुरु गरेको थियो। यसअघि सशस्त्र प्रहरी बलले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, मुस्ताङको जोमसोममा २६६ र कोरलानाकामा ३९४ गरी कुल ७७५ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा राखेको थियो।
सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म जोमसोमका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज गिरीका अनुसार नियन्त्रणमा लिइएका सबै सवारीसाधनलाई आइतबार साँझ सम्बन्धित आयातकर्ताको जिम्मा लगाइएको छ। जोमसोम बसपार्कमा राखिएका २६६ गाडीमध्ये आइतबार र सोमबार गरी २२३ वटा गाडीहरू गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् भने हाल त्यहाँ ४३ वटा मात्रै बाँकी रहेका छन्। भन्सार प्रक्रिया बाँकी रहेका गाडीहरूको पनि आवश्यक भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ लैजान कुनै समस्या नरहेको सशस्त्र प्रहरीले जनाएको छ।
