संविधान संशोधन विधेयक संविधानको मर्म र राष्ट्रहित विपरीत : एमाले

 


काठमाडौं । नेकपा एमालेले सरकारद्वारा संसदमा दर्ता गराएको संविधान संशोधन बिधेयक संविधानको मर्म र राष्ट्रहित विपरित रहेको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । स्थायी कमिटीको बैठकले राष्ट्रलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बेलामा सत्तापक्षले जनभावना विपरितको प्रस्ताव ल्याएर झन् ध्रुबीकृत गरेको ठहर गरेको छ ।

बैठकका निर्णयबारे जानकारी दिंदै पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो, ‘ यो संसोधन विधेयक राष्ट्रहित बिपरित छ । संविधानको मर्म र भावना बिपरित छ । यस्तो जनभावना बिपरित प्रस्तावले झन् देशलाई धुब्रीकृत गरेको छ ।’

प्रमुख प्रतिपक्षी दलसँग परामर्शविना ल्याइएको संशोधन बिधेयकले समाधान नदिने ठहर गर्दै सरकार र सत्तापक्षलाई तत्काल बिधेयक फिर्ता लिई सबै पक्षको संवादमा समाधानमा जुट्न आग्रह गरेको हो । ‘हामी संशोधन बिधेयक फिर्ता लिन आग्रह गर्छौं । फिर्ता लिइएन भने यसलाई पारित हुन दिंदैनौ’ भट्टराईले भन्नुभयो ।

त्यसैगरी जेठ १५ मा बजेट ल्याएर जेठ ३१ मा दोश्रो चरणको निर्वाचन गर्ने सरकारको घोषणा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता बिपरित भएको ठहर गर्दै त्यसबारे आयोगसँग परामर्श गर्ने निर्णय पनि बैठकले गर्यो । त्यसका लागि संसदीय दलका उपनेता सुवास नेम्बाङ, अग्नि खरेल र राजेन्द्र पाण्डेलाई आयोगसँग समन्वय गर्ने जिम्मेबारी तोकिएको छ ।
वैशाख १२ गते ।