चुनावको मुखमा माओवादी केन्द्र ललितपुरमा विवाद, सांसद घिसिङमाथि कारबाहीको घोषणा

 

काठमाडौं । स्थानीय तह निर्वाचनको मुखमा नेकपा माओवादी केन्द्र ललितपुरमा विवाद देखिएको छ । पार्टीको लाइनविपरित सांसद तथा जिल्ला सचिवालय सदस्य योगेन्द्र घिसिङमाथि जिल्ला पार्टी कमिटीले कारबाहीको घोषणा गरेको छ ।

पार्टीको लाइनविपरित घिसिङले ललितपुरका विभिन्न गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार खडा गरेकाले उनलाई अनिश्चितकालीन कारबाहीको घोषणा गरेको हो ।

जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले घिसिङले पार्टी हित र लाइनविपरित उम्मेदवार खडा गरेकाले कारबाही गर्ने निर्णय गरिएको जिल्ला इन्चार्ज हरि दाहालले  बताए । उनका अनुसार घिसिङलाई पार्टीको कुनै तह र भूमिकामा नरहने गरी अनिश्चतकालको लागि कारबाही गर्ने निर्णय गरिएको हो ।

मंगलबार स्थानीय तह निर्वाचनको लागि भएको उम्मेदवारी दर्ताका क्रममा उनले आफू निकटकाले टिकट नपाएपछि स्वतन्त्र प्यानलबाट ललितपुरका विभिन्न गाउँपालिकामा उम्मेदवार खडा गरेको माओवादी केन्द्र ललितपुरले जनाएको छ ।