ललितपुरभरि मैले गरेको सामाजिक काम नै चुनाव जित्ने आधार —रमेश महर्जन , मेयरका उम्मेदवार, साझा पार्टी

यही वैशाख ३१ मा स्थानीय निर्वाचन हुने निश्चित भएसँगै अहिले चुनावी माहोल तातेको छ । नेताहरु जनताको घर दैलोमा भोट माग्दै पुग्न थालेका छन् । मुलुकका चारवटै महानगरपालिकामा पनि यही वैशाख ३१ मै निर्वाचन हुँदैछ । काठमाडौँसँगै जोडिएको ललितपुर महानगरपालिकामा पनि अहिले चुनावी माहोल व्यपक बनेको छ । एमाले, काँग्रेस, माओवादी जस्ता ठूला दलले मात्र होइन साझा पार्टीले पनि अहिले मैदानमा उम्मेदवार खटाएको छ । सुनचाँदी रत्न आभुषण महासंघका अध्यक्ष समेत रहेका रमेश महर्जनलाई अहिले साझा पार्टीले मेयरको उम्मेदवारमा अघि सारेको छ । उहाँ ठूला पार्टीलाई समेत पाखा लगाएर निर्वाचनमा विजयी हुनेमा ढुक्क हुनुहुन्छ । उहाँले मेयर बनेपछि ललितपुर महानगरपालिकालाई कस्तो बनाउने योजना अघि सार्नु भएको छ त ? उहाँले मैत्री न्युजसँग गरेको कुराकानीः

ललितपुर महाननगरपालिकोको मेयर बनेपछि गर्ने चुनावी एजेण्ड के–के छन् ?

ललितपुर महानगरपालिका कला र संस्कृतिको धनी महानगरपालिका हो । यहाँको कला–संस्कृतिको बेग्लै महत्व रहिआएको छ । त्यो सँगै शक्तिशाली भूकम्पका कारण सबै सम्पदाहरु विग्रिएका वा भत्किएका छन् । म तिनीहरुको सम्र्वद्धनमा लाग्ने छु । ती सबै भौतिक संरचनालाई पुनःनिर्माण गर्नेछु । म ललितपुरवासी हुँ । मैले यहाँको कला, संस्कृतिलाई पहिलादेखिनै देख्दै आएको छु । मैले अघि पनि भने– यहीको वासिन्दा भएकाले मैले ललिपुरलाई नजिकबाट बुझेको छु । म व्यवसायी भए पनि सामाजिक काममा सक्रिय व्यक्ति हुँ । म पहिलेदेखि नै निःस्वार्थ रूपमा सामाजिक काममा खटिँदै आएको छु । माया फाउन्डेसनमार्फत मैले सामाजिक काम गर्दै आएको थिएँ । ललितपुरभरिका सामाजिक काममा म लामो समयदेखि संलग्न छु र नजिकबाट नियालिरहेको छु । यो नै मेरो चुनाव जित्ने आधार हो ।

ललितपुरलाई ललितपुर भनेर गर्व गर्नलायक सहर बनाउने योजना चाहिँ तपाईँसँग के–के छन् ?

ललितपुर सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण सहर हो । यी सम्पदालाई व्यवस्थित गर्न सके आर्थिक रूपमा समेत महानगरलाई समृद्ध बनाउन सकिन्छ । मेरो लक्ष्य यो सुन्दर नगरलाई विकसित र सुन्दर नगरका रूपमा विकास गर्ने हो । यहाँ भएका हस्तकला, मूर्तिकलालाई व्यवस्थित र व्यवसायीकरण गर्ने मेरो प्राथमिकता छ । भूकम्पले क्षतिग्रस्त भौतिक संरचनालाई मौलिक कला झल्कने गरी बनाउने भिजन मसँग छ । यहाँका हरेक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिने मेरो योजना हो ।

लामो समयदेखि सामाजिक काममा संलग्न भएका कारण मतदाताको घरदैलोमा जाँदा उहाँहरुबाट एकदमै राम्रो प्रतिक्रिया पाएको छु । उहाँहरू पनि उत्साही हुनुहुन्छ । सिंगो ललितपुरलाई सम्पदा सहरको विकास गर्ने र आधुनिकीकरण गर्ने मेरो प्रतिबद्धता छ ।

ललितपुरलाई आधुनिक सहरका रूपमा विकास गरिनेछ । सम्पदाको संरक्षण गर्दै लिंक रोड बनाउने, बाग्मती करिडोर निर्माण गर्ने, फोहर व्यवस्थित गर्ने मेरो योजना छ । दलीय स्वार्थभन्दा माथि उठेर ललितपुरको विकास मेरो लक्ष्य हो । रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने छौं । ललितपुरलाई प्रादेशिक राजधानीका रूपमा विकास गर्ने साथै काठमाडौं आउने गेट वेका रूपमा विकास गर्ने योजना छ । मिश्रित प्रणालीको बस्ती बनाउने योजना पनि बनाएको छु ।

व्यवस्थित सहर र स्वास्थ्य शिक्षामा जोड दिनेछु । सुलभ शिक्षा प्रदान गर्न सार्वजनिक स्कुलको गुणस्तर बढाउनेतर्फ ध्यान दिनेछु । साथै, सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन महागनरपालिकाले नै पोलिक्लिनिकहरू सञ्चालन गर्ने योजना बनाएको छु । अव्यवस्थित रूपमा बढेको बस्तीलाई कलात्मक रूपमा विकास गर्ने प्राथमिकता मेरो छ ।

तपाईँ त लामो समयदेखि व्यवसायमा संलग्न भएको व्यक्ति राजनीतिमा आउँदा समस्या होला नि ?

मैले अघि पनि भने– म पहिलेदेखि नै निःस्वार्थ रूपमा सामाजिक काममा खटिँदै आएको व्यक्ति हुँ । माया फाउन्डेसनमार्फत मैले सामाजिक काम गर्दै आएको थिएँ । ललितपुरभरिका सामाजिक काममा म लामो समयदेखि संलग्न छु र नजिकबाट नियालिरहेको छु । राजनीति गरेर कुनै दलको झण्डा नै बोकेर नहिडे पनि मैले जनताकाबीचमा जाने विकास निर्माणका काम गर्ने जस्ता कुरामा निकै लामो अनुभव बटुलेको छु । मैले राजनीतिक दलका नेताले भन्दा बढी माया यहाँका जनताबाट पाएको छु । हो, स्वाभाविकै रुपमा राजनीतिमा विभन्न खाले जालझेल पनि गर्नुपर्छ भन्ने मैले सुनेको छु । तर, मैले त्यो गर्न जरुरी छैन । म को हुँ भनेर जनताले मलाई राम्ररी चिनेका छन् । म जनताका बीचमा लोकप्रीय छु । उहाँहरुले ममाथि विश्वास पनि गर्नुभएको छ ।

व्यवसाय नै छाडेर राजनीति गर्दा त अलिक समस्या होला नि ?

मलाई अव त्यस्तो समस्या छैन । मेरो पुस्ताले व्यवसाय धान्ने आधार तयार भएको छ । लामो समयलेखि म समाजसेवामा पनि समर्पित थिएँ । मलाई राजनीतिमा लागेर पनि समाजसेवा गर्ने रहर त अलिअलि थियो । तर, यसरी नै आइहाल्छु होला भन्ने थिएन । रविन्द्र मिश्रलगायतले मलाई राजनीतिमा आउन घचघच्एपछि म राजनीतिमा समर्पित हुने निर्णयमा पुगेको हुँ । मैले इमान्दारपूर्वक भन्नुपर्छ । ललिलपुर महाननगरपालिकाको मेयर बन्ने मेरो एक–दुई वा तीन–चार वर्षदेखिको योजना होइन । मैले छोटो समयकै तयारीमा मेयरको तयारी गरेँ । तर, छोटो समयमै मैले जनतापाट पाएको प्रतिक्रियाले म उत्साहित भएको छु ।

तपाईँको प्रतिष्पर्धा कुन राजनीतिक दलसँग हुने सम्भावना देख्नु भएको छ ?

लामो समयदेखि तलतलसम्म पनि संगठन बलियो बनाएर बसेका राजनीतिक दलहरु यहाँ छन् । त्यसैले मेरो कुनै पनि राजनीतिक दलसँग प्रतिष्पर्धा हुँदैन वा छैन भन्यो भने कसैले पनि पत्याउँदैनन् । हो स्वाभाविकै रुपमा मेरो प्रतिष्पर्धा भनेको यहाँका ठूला दलसँग नै हो । तर, यहाँका जनता लामो समयसम्म भोट हालेर पनि कुनै प्रतिफल प्राप्त नभएको भन्दै अहिले नयाँ स्वादका लागि साझा पार्टीलाई रोज्नुपर्छ भन्नेमा पुगेका छन् । जनताकाबीचमा मेरो घुलमिल, मैले यस अघि पनि गरेका काम, मेरो योजना सबैले यहाँका जनतालाई तानेको छ । त्यसैले म अहिलेसम्म पनि मयेर जित्छु भन्नेमा ढुक्क छु । मलाई जनताले पनि त्यही विश्वास दिलाउनु भएको छ ।

अब पूर्णसमय राजनीति नै गर्ने हो ?

हो, अब म मेयर निर्वाचित भएपछि फेरि व्यवसाय गर्छु भन्न मिल्दैन । त्यसैले मेरो सबै ध्यान अव राजनीति र राजनीतिमार्फत विग्रिएको राजनीतिलाई सही दिशामा अघि बढाउने हुने छ ।