नयाँ कार्यक्रमविनाको बजेट ल्याइने

 

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन बाँकी रहेकाले निर्वाचन आचारसंहिता लाग्ने भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम समावेश नगर्ने भएको छ ।

आचारसंहिता लागेपनि सरकारले पूर्ण आकारको बजेट ल्याउने तयारी गर्ने गरेको छ । आउँदो सोमबार सरकारले आगामी आवको बजेट व्यस्थापिका संसदमा पेश गर्दैछ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षमा खासै नयाँ कार्यक्रम नआउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा अर्थमन्त्री महराले आचारसंहिता लागु भएकाले नयाँ कार्यक्रम नल्याउने स्पष्ट पारे ।
आगामी वर्षदेखि संविधान कार्यान्वयन हुने भएकाले स्थानीय तहमा वित्तीय हस्तान्तरण, प्रदेश र केन्द्रको निर्वाचनका अतिरिक्त पुनर्निर्माणलाई तिव्रता र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन हुने उनले स्पष्ट पारे । उनले चालु आवमा पुँजीगत खर्च ८४ प्रतिशत हुने जानकारी दिए ।

सो अवसरमा अर्थसचिव शान्तराज सुवेदीले अघिल्ला वर्षजस्तै यो वर्ष पनि सामान्य वार्षिक बजेट आउने बताए । स्थानीय तहमा जाने बजेट चालु खर्च शिर्षकमा रहने भएपछि आगामी आवदेखि पुँजीगत खर्च घट्ने सचिव सुवेदीले बताए । “हाम्रो लेखा प्रणालीअनुसार स्थानीय तहमा जाने सबै बजेट चालु हुने व्यवस्था छ,” उनले भने, “यसले गर्दा पँजीगत खर्च कम हुने देखिएको छ । स्थानीय निकायमा जाने बजेट पनि विकास खर्च हो ।”

अघिल्लो वर्षको तुलनामा यो वर्ष पुँजीगत खर्च बढेको उनको जिकिर छ । कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को ३ प्रतिशत पुँजीगत खर्च गत वैशाखमा भइसकेको उनले जानकारी दिए । सुवेदीका अनुसार गत वर्ष यस्तो खर्च २ प्रतिशतमात्र भएको थियो । नेपालको जीडीपीको आकार बढेर २६ खर्ब रुपैयाँ पुगेको जानकारी दिँदै उनले यसलाई बढाउन सार्वजनिक निजी साझेदारीमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
जेठ ८ गते ।