इबोला संक्रमणको जोखिम ‘अत्यन्तै चिन्ताजनक’: विश्व स्वास्थ्य संगठन

 

जेनेभा (एजेन्सी), ६ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) र युगान्डामा फैलिएको इबोला महामारीको गति र स्तर ‘गम्भीर चिन्ताको विषय’ भएको बताएका छन्।

मंगलबार जेनेभामा विश्व स्वास्थ्य सभाका सदस्यहरूलाई सम्बोधन गर्दै डा. टेड्रोसले द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीहरूलाई लाखौं विस्थापित मानिसहरूसम्म पुग्न कठिन भइरहेको र संक्रमण तीव्र गतिमा फैलिरहेको प्रति सचेत गराए।

१३० भन्दा बढीको मृत्यु
डब्लुएचओका अनुसार हालसम्म यस प्रकोपबाट १३० जनाभन्दा बढीको मृत्यु भइसकेको आशंका गरिएको छ भने ५०० भन्दा बढी शंकास्पद केसहरू दर्ता भएका छन्। डा. टेड्रोसले शनिबार नै यस प्रकोपलाई ‘अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल’ (PHEIC) घोषणा गरिसकेका छन्। कुनै पनि संकटलाई आपतकालीन समिति बैठक बस्नु अगावै डब्लुएचओ प्रमुखले यसरी आपतकाल घोषणा गरेको यो पहिलो पटक हो।

सहरी क्षेत्रमा संक्रमणको त्रास
संक्रमणका केसहरू अब दुर्गम क्षेत्रमा मात्र सीमित नरही युगान्डाको राजधानी काम्पला, कंगोको गोमा र बुनिया जस्ता ठूला सहरहरूमा पनि देखिन थालेका छन्। स्वास्थ्यकर्मीहरूको मृत्युले अस्पतालभित्रै पनि संक्रमण फैलिरहेको संकेत गरेको डा. टेड्रोसले बताए।

कंगोको इटुरी प्रान्तमा जारी हिंसाका कारण पछिल्लो दुई महिनामा १ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। “मानिसहरूको यो ठूलो आवतजावतले इबोला संक्रमण थप फैलाउने उच्च जोखिम निम्त्याएको छ,” उनले चेतावनी दिए।

नयाँ प्रजाति: खोप र उपचारको अभाव
यस पटकको महामारी ‘बुन्डिबुग्यो’ (Bundibugyo) नामक इबोला प्रजातिका कारण फैलिएको हो। यो प्रजाति विरुद्ध हालसम्म कुनै प्रमाणित खोप वा उपचार उपलब्ध छैन। डब्लुएचओका प्रतिनिधि डा. एनी एन्सियाका अनुसार, सुरुवाती परीक्षणमा यो सामान्य ‘जायरे’ (Zaire) प्रजातिसँग मेल नखाएका कारण संक्रमण पहिचान गर्न ढिलाइ भएको थियो। यद्यपि, सन् २००७ र २०१२ मा देखिएको प्रजातिसँग यो मिल्दोजुल्दो भएकाले पहिचानका लागि आवश्यक डायग्नोस्टिक उपकरणहरू भने उपलब्ध छन्।

के हो इबोला?
इबोला संक्रमित व्यक्तिको रगत, पसिना वा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ। यसको मृत्युदर औषत ५० प्रतिशत रहेको छ। संक्रमितमा ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी दुख्ने, टाउको दुख्ने र गम्भीर अवस्थामा आन्तरिक तथा बाह्य रक्तश्राव हुने जस्ता लक्षणहरू देखिन्छन्।

अमेरिकाद्वारा सहायता टोली परिचालन
यसैबीच, अमेरिकाले कंगो र युगान्डामा विपद् सहायता प्रतिकार्य टोली परिचालन गरेको छ। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले डब्लुएचओले संक्रमण पहिचान गर्न ढिलाइ गरेको आरोप लगाएका छन्। तर, उनले अमेरिकी अनुदान कटौतीका कारण संक्रमण पहिचानमा समस्या भएको भन्ने तर्कलाई भने अस्वीकार गरे।

अहिले अमेरिकी विशेषज्ञहरूको सानो टोली किन्सासा र काम्पलातर्फ प्रस्थान गरिसकेको छ। अवस्थाको मूल्यांकनपछि टोलीको आकार बढाइने बताइएको छ।(अन्तराष्ट्रिय न्यूज एजेन्सी)