प्रकृति संरक्षणमा नेपाली सेनाको विशिष्ट योगदानको कदर : विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान
काठमाडौँ, जेठ ६ । नेपाली सेनाले विगत पाँच दशकदेखि प्रकृति तथा पर्यावरण संरक्षणको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप विश्व वन्यजन्तु कोष नेपालले विशेष सम्मान प्रदान गरेको छ ।
कोषको ३३औँ स्थापना दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रममा नेपाली सेनालाई सो सम्मान प्रदान गरिएको हो। सेनाले विसं २०३२ देखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूको सुरक्षार्थ औपचारिक रूपमा आफ्नो उपस्थिति जनाउँदै आएको छ ।
सेनाका अनुसार, यसअघि पनि वन्यजन्तु संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सेनाका विभिन्न ६ वटा युनिटले ‘अब्राहम कन्जर्भेसन अवार्ड’ प्राप्त गरिसकेका छन् । सन् २०११ देखि २०१९ सम्मका विभिन्न वर्षहरूलाई ‘शून्य चोरी-सिकार वर्ष’ का रूपमा सफल बनाउन सेनाको भूमिका प्रभावकारी देखिएको थियो । यसका साथै, बर्दिया राष्ट्रिय निकुञ्जले यसअघि ‘डबल टाइगर अवार्ड’ समेत प्राप्त गरिसकेको छ ।
हाल नेपाली सेनाले मुलुकका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको सुरक्षाका लागि ८ वटा गण, ७ वटा अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालय परिचालन गरेको छ । यस कार्यमा हजारौँको सङ्ख्यामा सैनिक जनशक्ति अहोरात्र खटिएका छन् ।
सेनाको सक्रिय सुरक्षा र संरक्षण रणनीतिको परिणामस्वरूप नेपालमा वन्यजन्तुको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ। सन् २००९ मा १२१ को सङ्ख्यामा रहेका पाटे बाघको सङ्ख्या हाल ३५५ पुगेको छ भने सन् २००५ मा ४०० को हाराहारीमा रहेका एकसिङ्गे गैँडाको सङ्ख्या वृद्धि भई ७५२ पुगेको तथ्याङ्क छ ।
भौगोलिक विकटता, प्रतिकूल मौसम र अनेकौँ चुनौतीका बाबजुद प्रकृति संरक्षणको जिम्मेवारी निर्वाह गर्ने क्रममा हालसम्म ११६ जना सैनिकले आफ्नो वीरगति प्राप्त गरिसकेको सेनाले जनाएको छ । यो सम्मानले प्रकृति संरक्षणमा खटिएका सैनिकहरूको मनोबल थप उच्च बनाउने विश्वास लिइएको छ ।