अमेरिका जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अलग भएको घोषणा
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक पेरिस संझौताबाट अलग हुने घोषणा गर्नुभएको छ ।
उहाँले संझौता अमेरिकी हितमा नभएको र त्यसबाट अमेरिकीहरुको रोजगारी खोसिने भन्दै आफुले त्यस्तो निर्णय लिएको दावी गर्नुभयो
तर विपक्षीहरुले त्यस्तो निर्णय गरेर एउटा जल्दोबल्दो अन्तर्राष्ट्रिय चुनौतीबाट अमेरिका भागेको आरोप लगाएका छन्।
झण्डै डेढ वर्ष अघि प्यारिसमा भएको विश्व संमेलनमा ट्रम्पको पूर्ववर्ती ओबामा प्रशासनले प्यारीस सम्झौतामा हस्ताक्षर गरेको थियो।
सो संझौतामा विश्व तापमान औद्योगिकीकरण भन्दा अघिको तुलनामा २ डिग्रीभन्दा बढ्न नदिन हरितगृह ग्याँस उत्सर्जन कम गर्न प्रस्तावहरु गरिएको छ।
तर ट्रम्पले आफ्नो चुनावी अभियानमा जलवायु परिवर्तनमाथि नै शंका गर्दै आफु राष्ट्रपतिमा निर्वाचित भएमा सो संझौताबाट अमेरिका बाहिरिने बताउँदै आउनुभएको थियो।
ट्रम्पले सुधारसहितको पेरिस संझौतामा फेरि भाग लिने वा त्यस्तै नयाँ संझौता गर्ने भन्नेबारे आफ्नो प्रशासनले काम गर्ने बताउनुभयो।
चीन तथा भारतको उदाहरण दिँदै उहाँलेती मुलुकहरुको तुलनामा पेरिस संझौता अमेरिकाकालागि भेदभावपूर्ण भएको बताउनुभयो ।
उक्त संझौताले अमेरिकामा बाँकी बचेका उद्योगधन्दाहरुलाई धरासायी पार्ने पनि उहाँको दावी थियो ।
यसअघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकालाई जलवायु परिवर्तनसम्बन्धी प्यारीस सम्झौताप्रति प्रतिबद्ध रहन आह्वान गर्नुभएको थियो ।