अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न चाहेको छ : टिलरसन
अमेरिका । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उनको मुलुकले उत्तर कोरियाली सरकार गिराउन नखोजेको बरु प्योङयाङसँग वार्ता गर्न चाहेको बताएका छन्।
उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणपछि बढेको तनावमाझ अमेरिकी विदेश मन्त्री टिलरसनले प्योङयाङलाई भनेका छन्, हामी तिम्रा शत्रु होइनौं।
उनले प्योङयाङको बलिस्टिक क्षेप्यास्त्र परीक्षण अमेरिकाका लागि अस्वीकार्य खतराू भएको बताएका छन्।
त्यो परीक्षणका कारण वासिङटनले त्यसको प्रतिक्रिया दिनैपर्ने अवस्था आएको उनले बताए।
टिलरसनले भनेका छन्, हामी तिम्रो उत्तर कोरियाको सरकार ढाल्न चाहदैनौंस हामी कोरियाली प्रायद्वीपको तीव्र गतिको एकीकरण चाहदैनौं। हामी तिम्रो शत्रु होइनौं तर हामीलाई अस्वीकार्य हुने खतरा सृजना गरेर हामीलाई प्रतिक्रिया दिन बाध्य नपारियोस्।
अब उत्तर कोरियामाथि सघन आर्थिक दबाब थप्नु अहिलेको रणनीति रहेको टिलरसनले बताए।
एकजना वरिष्ठ सिनेटरले राष्ट्रपति ट्रम्पले युद्धमा जाने कुरा गरेको भनेको बताएको केही दिनपछि टिलरसनको पछिल्लो प्रतिक्रिया आएको छ।
गत शुक्रबार उत्तर कोरियाले गरेको अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षणसंगै प्योङयाङले आफ्नो क्षेप्यास्त्र अब अमेरिकाको सबै भूभागमा पुग्न सक्ने दाबी गरेको छ।