आयल निगमको जग्गा खरिदमा १ अर्ब रुपियाँ घोटला भएको लेखा समितिको ठहर, कारबाही गर्न अख्तियारलाई आग्रह

 

काठमाडौँ । व्यवस्थापिका संसदका सार्वजनिक लेखा समितिले गरेको छानविनमा आयल निमगका अधिकारीले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गर्दै जग्गा किनेको भेटिएको छ । जग्गा प्राप्तीको सरकारी कम्पनीको प्रक्रिया छलेर गोलमाल रुपमा टेण्डर गर्दै झण्डै १ अर्ब रुपैयाँ कुम्ल्याएको आरेप अहिले निगमका अधिकारीमाथि छ ।

लेखा समितिले जग्गा प्राप्ति ऐनबमोजिम खरिद गर्नुपर्नेमा टेण्डरबाट गरिनुले अनियमितता भएको प्रष्ट भएको बताएको छ । विधि प्रकृयामा त्रुटी भएको ठहर समितिको छ ।
यस्तै सिधै जग्गाधनीबाट खरिद गर्नुपर्नेमा दलालबाट किन्नु र सरकारी र चलनचल्तीको भन्दा बढीमा जग्गा किनेको निश्कर्ष आधारित भएर कारवाही गर्न आयोगलाई निर्देशन दिएको छ ।
लेखा समितिले निगमले जग्गा किन्दा अपनाएको प्रक्रिया र जग्गा किन्दा स्थानीय क्षेत्रमा गरिएको सेटिङमाथिको छानविन गरेर दोषीलाई कारवाही गर्न अख्तियारलाई भनेको छ ।

समिति सभापति डोप्रसाद उपाध्यायले आयल निगमको घोटाला प्रकरण अख्तिायर पठाउने निर्णय सुनाएका छन् । अख्तियारले यसअघि नै आयल निगमबारे अनुसन्धान थालेको बताएको थियो । तर, करोडौंको घोटाला प्रकरणमा मौन बसेको भन्दै अख्तियारको आलोचना भइरहेको छ ।

आयल निगमका प्रमुख गोपाल खड्कासहित आरोपित अधिकारी र विवादित प्रक्रियामा छानविन गरिरहेको अख्तियारले कसैलाई हचुवाका भरमा जेल हाल्न नसकिने बताएको छ ।
सुशासन समितिको बैठकमा अख्तियार प्रमुख दीप बस्न्यातले भनेका थिए,’बाहिर आए जस्तो हामी यो विषयमा हात बाँधेर बसिरहेका छैनौं । अनुसन्धान सुरु भएको छ । कसैलाई त्यत्तिकै च्याप्प समातेर जेल हाल्न मिल्दैन ।’