बाम एकता आवश्यकता भन्दा बढी बाध्यता —शंकर पोखरेल ,स्थायी कमिटी सदस्य, नेकपा (एमाले)


काठमाडौँ । अहिले बाम र लोकतान्त्रिक गठबन्धनको विषयले निकै चर्चा पाएको छ । नेपाली काँग्रेस अहिले लोकतान्त्रिक गठबन्धनको तयारीमा छ भने नेकपा (एमाले) बाम गठबन्धनसहित चुनावी तालमेलमा जुटेको छ । नेकपा माओवादी केन्द्रसँग बाम गठबन्धन नै गर्ने गरी एमाले अघि बढेपछि धेरै आशंका उत्पन्न भएका छन् ।
कतिपयले त बाम गठबन्धनलाई अस्थायी गठबन्धन पनि भनेका छन् । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शंकर पोख्रेल भने यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताउनु हुन्छ । पोख्रेलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्था, बाम शक्तिबीचको तालमेललगायतका विषयमा केन्द्रित भएर मैत्रिन्युज डटकमका लागि मोहन बास्तोलाले गरेको कुराकानीः
नेकपा (एमाले) र माओवादी केन्द्रको एकतासँगै नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने आधार तयार भएको छ । यसलाई कसरी लिनुभएको छ ?
संविधानसभावाट नयाँ संविधान बनेसँगै नेपालको राजनीतिको डिस्कोर्स परिवर्तन हुनु आवश्यक थियो । अधिकारमुखी राजनीतिलाई विकास र समृद्धिको मुद्दामा केन्द्रित गर्नु आवश्यक थियो । त्यसका लागि वैचारिक र सैद्धान्तिक रुपमा नजिक रहेका शक्तिहरुका बीचमा ध्रुविकरण आवश्यक थियो । अहिलेको नेकपा (एमाले) माओवादी केन्द्र र नयाँशक्ति बीचको चुनावी तालमेललाई सोही अनुरुप हेर्नु पर्दछ । यसलाई सकारात्मक पहलका रुपमा लिनु पर्दछ ।
बाम एकताको चर्चासँगै यो दिर्घकालिन नहुने हो कि भन्ने पनि आशंकाहरु उत्पन्न भएका छन् । यसलाई चाहिँ कसरी लिनुभएको छ ?
निश्चय नै एकता प्रकृया सहज विषय होइन । हिजोसम्म परस्पर विरोधी राजनीतिकधारमा उभिएका शक्तिहरु दिर्घकालिन सोचका साथ अघि वढ्न तयार हुने कुरा धेरैका लागि अपत्यारिलो पनि लागि रहेको छ । तर, आवश्यकता दलहरुका बीच धु्रविकरण छ । अधिकारको संघर्षमा धेरै दलहरु हुँदा खासै फरक पर्दनथ्यो । तर मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक हुन्छ । त्यसका लागि राजनीतिक दलहरुको संख्या कम हुनु जरुरी हुन्छ । अमेरिका, व्रिटेन र चिन जस्ता मुलुकहरुमा एकाध दलहरुले नेतृत्व गरेको अवस्था छ । हामी कहाँ दलहरुको संख्या एक सय भन्दामाथि छ । यो विडम्वना पूर्ण अवस्था हो । यस प्रकारको विरोधाभाषपूर्ण अवस्थाको अन्त्यका लागि पनि दलहरुका बीचमा एकता र सहकार्य आवश्यक छ । कठिन भए पनि सफल वनाउन सबै लाग्नु पर्दछ ।
बाम एकता आवश्यकता हो कि बाध्यता ?
एक हिसावले बाध्यता हो । अर्को हिसावले त्यो आवश्यकता हो । परिस्थितिले नै दलहरुलाई त्यो ठाउमा पुर्याउथ्यो नै । नयाँ संविधान जारी भएसंगै कानुनमा व्यवस्था गरिएको थ्रेसहोल्डले पनि दलहरुको संख्यामा कटौती हुने नै थियो । तर प्रमुखदलहरु मिलेर अघि वढ्ने कुरा बाध्यता भन्दा आवश्यकताको पक्ष नै वढी हो ।
माओवादी कै समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । तर, अन्तिममा अध्यक्ष प्रचण्डले नै नाटकीय ढंगले कांग्रेसलाई समर्थन गरेपछि सरकार ढल्यो । यो इतिहास पनि त ताजै छ नि ?
इतिहासका घटनाहरुको भारी वोकेर भविष्यलाई सुन्दर र सुखी वनाउन सकिदैँन । इतिहासवाट शिक्षा अवश्य लिनु पर्दछ । तर, इतिहासलाई महादेवले सतीदेवीको लासलाई वोकेर हिडे झैँ हिड्नु उचित होइन । अहिलेको नयाँ घटनाक्रमलाई इतिहासको शिक्षाका रुपमालिन सक्नु पर्दछ ।
माओवादीले इमान्दार पूर्वक बाम एकताको अभियानमा सहभागी होला भन्ने के आधार ?
समय र परिस्थितिको माग भएपछि सवै इमान्दार हुनु आवश्यक छ । इमान्दार नहुने हो भने समयको प्रवाहले पछि छोड्न पुग्छ । माओवादी नेतृत्व त्यस प्रति सचेत नै होला भन्ने मेरो वुझाई रहेको छ ।
बामएकता नै गर्ने भनेपछि फेरि किन ६० प्रतिशत र ४० प्रतिशतको कुरा आयो भनेर पनि कार्यकर्ताहरुले एकतामाथि नै शंका गरेका छन् नि ?
संक्रमणकालिन अवस्थामा व्यवस्थापनका अनेक विधि र प्रकृया आवश्यक पर्दछ । पार्टी एकभए पछि यस प्रकारको वाँडफाँडको आवश्यकता पर्दछ । त्यतिवेला त योग्यता र क्षमताका आधारमा जिम्मेवारी लिने र दिने कुरा हुन्छ ।
एकता नै गर्ने हो भने एउटै चुनाव चिन्ह लिएर उठेको भएपनि त हुन्थ्यो होला नि ?
हाम्रो त अहिले पनि त्यही प्रस्ताव छ । सुरुमा सहमति पनि सोही विषयमा भएको हो । पछि माओवादी केन्द्रले प्राविधिक रुपमा अप्ठारो परेको कुरा अघि सारेको छ । यस विषयमापनि छलफल जारी नै छ ।
पार्टीको नाम र झण्डाका विषयमा कुरा मिलेको हो ?
औपचारिक रुपमा हामी त्यो ठाउँमा अझै पुगेका छैनौ । अनौपचारिक रुपमा भने त्यस विषयमा धेरै कुरा अघि वढेको छ । तर, झण्डा परिवर्तनको विषय चै उठेको छैन । नाम र चुनाव चिन्हमा एकरुपताको विषयमा मोटामोटी सहमति भएको अवस्था छ ।
एमाले र माओवादीबीच तालमेल सहित चुनाव लडेपछि बहुमत आउँछ भन्नेमा तपाईँहरु ढुक्क हो ?
बहुमत त एक्लाएक्लै लडेको अवस्थामा पनि आउथ्यो जस्तो लाग्छ । तर, यो एकता र तालमेल वहुमतका लागि नभै नेपाली समाजको क्रान्तिकारी रुपान्तरण र समृद्धिका लागि हो ।
चुनावी तालमेल हुँदा पनि बहुमत आएन भने नि ?
त्यसमा संका गर्नु पर्ने अवस्था नै छैन । मुलुकलाई राजनीतिक स्थायित्वप्रदान गर्ने गरी वामगठवन्धनले चुनावमा विजय हाँसिल गर्छ ।