माझीटार बस्ती संरक्षणका लागि हेंवा खोलामा तटबन्ध निर्माण सम्पन्न
काठमाडौँ, असार ३० । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमानामा अवस्थित माझीटार बस्तीलाई बाढी र कटानबाट जोगाउन तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ ।
सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय, झापाको आर्थिक तथा प्राविधिक सहयोगमा हेंवा खोलाको दुवै किनारमा तटबन्ध निर्माण गरिएको हो । आयोजनाका प्राविधिक दिनेश सुवेदीका अनुसार माझीटारको बस्ती र उब्जाउ जमिन जोगाउने उद्देश्यले हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो संरचना निर्माण गरिएको छ । उक्त तटबन्धको उचाइ तीन मिटर रहेको छ ।
रणकाली माता निर्माण कम्पनीले करिब रु. ३ करोडको लागतमा हेंवा खोलामा २७६ मिटर र पाँचथर–ताप्लेजुङ सिमानाको काबेली नदीमा २०० मिटर लामो तटबन्ध निर्माण गरेको हो ।
विगत तीन वर्षदेखि हेंवा खोलाले बहाव परिवर्तन गरी व्यापारिक तथा पर्यटकीय क्षेत्र माझीटारमा तीव्र कटान गर्दै आएको थियो । बाढीका कारण सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै खानेपानी र सिँचाइका स्रोतहरू समेत प्रभावित भएका थिए ।
हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले स्थानीय तहको स्रोतले मात्र सम्भव नभएपछि सङ्घीय सरकारसँगको समन्वयमा तटबन्ध निर्माण सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि तटबन्ध विस्तारका लागि सङ्घीय बजेट विनियोजनको तयारी भइरहेको छ ।
तटबन्ध निर्माणपछि माझीटारको मुख्य बस्तीको जोखिम न्यूनीकरण भएको नेपाल माझी उत्थान सङ्घ, पाँचथरका अध्यक्ष रामकुमार माझीले बताउनुभयो । स्थानीय माछाका परिकारका लागि चर्चित यस पर्यटकीय क्षेत्रमा तटबन्ध बनेपछि स्थानीय व्यवसायी र बासिन्दाले राहत महसुस गरेका छन् ।
यद्यपि, हेंवा खोलाको जोखिम कम भए पनि पछिल्लो समय तमोर नदीले बहाव परिवर्तन गरी बस्तीतर्फ सोझिएकाले थप चुनौती थपिएको स्थानीयको भनाइ छ । स्थानीयवासी वीरबहादुर माझीले तमोर नदीतर्फ पनि तत्काल तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।