सुरक्षा जोखिमका कारण नागढुङ्गासहित उपत्यकाबाट बाहिरिने प्रमुख नाकामा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

काठमाडौँ, ३० असार । अविरल वर्षाका कारण सम्भावित बाढी, पहिरो र ढुङ्गा खस्ने जोखिम उच्च बनेपछि सुरक्षा निकायले सङ्घीय राजधानी काठमाडौँबाट बाहिरिने मुख्य नाकाहरूमा सवारी आवागमनमा पूर्ण रोक लगाएको छ। प्रतिकूल मौसमका कारण राजमार्गहरूमा हुनसक्ने ठुलो मानवीय क्षति न्यूनीकरण गर्न प्रहरीले नाकामा पूर्ण रोक लगाएकाे हाे ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। “सडकको भौगर्भिक अवस्था र निरन्तरको वर्षाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रुको सुरक्षाका लागि यो निर्णय लिइएको हो,” प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।

यस्तै, दक्षिणतर्फबाट मकवानपुर जोड्ने फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकखण्डमा पनि उच्च जोखिमका कारण सवारी आवागमन रोकिएको छ। प्रहरीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र यात्रामा रहेकाहरूलाई सुरक्षित स्थानमा आश्रय लिन अपिल गरेको छ।

राजधानीको ‘लाइफलाइन’ मानिने नारायणगढ–मुग्लिन सडकखण्ड पनि प्रभावित भएको छ। मुग्लिन नजिकैको तुइन खोलामा माथिबाट ढुङ्गा खस्न थालेको र सेती दोभान क्षेत्रमा लेदोसहितको बाढी बगेका कारण यो खण्डमा दुईतर्फी आवागमन ठप्प भएको छ। सडक विभाग र सुरक्षा निकायको टोली उपकरणसहित कार्यक्षेत्रमा रहे पनि निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन कठिन भइरहेको छ।

प्रहरीले मुलुकका विभिन्न भागमा भइरहेको भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको भन्दै यात्रा गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा ‘१००’ मा फोन गरी सडकको अवस्था बुझ्न अनुरोध गरेको छ। नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका बस्तीहरूमा विशेष निगरानी बढाइएको छ।