अमेरिकाको न्युयोर्कमा ट्रक जोताउँदा ८ जनाका मृत्यु , ११ जना घाइते
न्युयोर्क । न्यूयोर्कको म्यानह्याटनस्थित व्यस्त सडकमा एक आतंकवादीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
आक्रमणकारीको साथबाट २ वटा सानो बन्दुक पनि फेला परेको न्यूयोर्क प्रहरीले बताएको छ ।
उक्त आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिंदै न्यूयोर्कका मेयर बिल ब्लासियोले भने, ‘सर्वसाधारणमाथि गरिएको आतंककारी आक्रमण निन्दनीय छ। छानबिन पछि मात्र हामी थप बाहिर ल्याउन सक्छौं।’
राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कमा दिमागी हालत ठीक नभएको एकजना गुण्डाबाट आक्रमण भएकोु प्रतिक्रिया दिएका छन्।
राष्ट्रपति ट्रम्पले कानून कार्यान्वयन गराउने निकायले घटनालाई नजिकबाट हेरिरहेको बताए।
उनले मध्यपूर्वमा तथाकथित इस्लामिक स्टेट समूह पराजित भएपछि उसलाई अमेरिका फर्किन वा प्रवेश गर्न दिन नहुने उल्लेख गरेका छन्।
म्यानह्याटन आक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका आउने विदेशीहरुको जाँच प्रक्रियामा थप कडाई गर्न आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालयलाई निर्देशन दिएका छन्।
ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले यसअघि नै त्यहाँ जाने विदेशीहरुको जाँच प्रक्रियामा कडाई गरिसकेको छ।
घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन्।
उनले भने, हामीलाई थाहा छ कि हाम्रो मनोबल गिराउने नियतले यो कार्य गरिएको हो तर हामीलाई यो पनि थाहा छ कि न्यूयोर्कवासी बलिया छन्, असहज अवस्थाबाट छिट्टै सहज अवस्थामा फर्किनसक्ने खालका छन्।