पानीका मुहान सफा र कुमार कार्तिकेयको पूजा गर्दै सिथि नखः र कुमार षष्ठी मनाइँदै
काठमाडौँ, ६ असार । आज ज्येष्ठ शुक्ल षष्ठी अर्थात् नेवा: समुदायको महत्वपूर्ण पर्व ‘सिथि नखः’ र हिन्दू धर्मावलम्बीहरूको ‘कुमार षष्ठी’ देशभर मनाइँदैछ । यस दिन धार्मिक आस्थासँगै पर्यावरण संरक्षणको सन्देश दिने परम्परा रहेको छ ।
आजको दिनलाई भगवान् शिव र पार्वतीका सुपुत्र कुमार कार्तिकेयको जन्मजयन्तीका रूपमा ‘कुमार षष्ठी’ मनाइन्छ । धार्मिक विश्वासअनुसार पद, धन र मान-सम्मान गुमेका व्यक्तिहरूले आज कुमार कार्तिकेयको विधिपूर्वक पूजा-आराधना र व्रत गरेमा गुमेको प्रतिष्ठा पुनः प्राप्त हुन्छ । देवगणका सेनापति कुमारलाई शक्तिको प्रतीकका रूपमा पुजिने गरिन्छ ।
नेवा: समुदायले आज ‘सिथि नखः’ पर्वलाई विशेष उत्साहका साथ मनाउँदैछन् । यो पर्व विशेषगरी जलस्रोतको सरसफाइ र संरक्षणसँग जोडिएको छ । वर्षायाम सुरु हुनुअघि पानीका मुहानहरू सफा गर्नुपर्छ भन्ने प्राचीन मान्यताअनुसार आज इनार, ढुङ्गेधारा, पोखरी र कुवाहरूको सरसफाइ गरिन्छ ।
वर्षाको समयमा बाढी र फोहोरले पानीका मुहान दूषित हुने भएकाले त्यसअघि नै मुहानको तल्लो तहसम्म सफा गर्ने यो मौलिक परम्पराले आधुनिक समयमा पनि ठूलो वातावरणीय महत्व बोकेको छ ।
सिथि नखःका अवसरमा नेवार समुदायमा मास, मुगीको बारा (वः), चतामरी जस्ता विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने प्रचलन छ । कृषि कर्म सुरु हुनुअघि शरीरलाई शक्ति प्रदान गर्ने र परिवारका सदस्यहरू एकै ठाउँमा बसेर खुसी साटासाट गर्ने यो पर्वले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउँदै आएको छ । पछिल्लो समय सहरीकरणका कारण ढुङ्गेधारा र इनारहरू लोप हुँदै गए पनि सांस्कृतिक रूपमा यस पर्वको सान्दर्भिकता झन् बढ्दै गएको सांस्कृतिकविद्हरू बताउँछन् ।