झापामा रोजगार मेलाको लहर : २८५ युवाले पाए प्रत्यक्ष रोजगारी

काठमाडौँ, असार ६ । झापाका दुई प्रमुख स्थानीय तह अर्जुनधारा र बिर्तामोड नगरपालिकाद्वारा आयोजित रोजगार मेलाबाट २८५ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् । स्थानीय सरकार र निजी क्षेत्रको समन्वयमा सञ्चालित यी मेलाहरूबाट अर्जुनधाराका १२१ र बिर्तामोडका १६४ जना युवा रोजगार बन्न सफल भएका हुन् ।

अर्जुनधारामा तीनदिने मेला
अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग तथा अर्जुनधारा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही असार ३ देखि ५ गतेसम्म शनिश्चरे बजारमा ‘रोजगार मेला’ सम्पन्न भएको थियो । बेरोजगार जनशक्ति, रोजगारदाता र प्रशिक्षण केन्द्रहरूबीच समन्वय गराउने उद्देश्यले आयोजित यस मेलाबाट प्रारम्भिक चरणमा १२१ जनाले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

सङ्घका अध्यक्ष इन्दिवर खड्काका अनुसार मेलामार्फत ४ जना वेटर, १० जना कुक, २० जना हाउसमेन, १३ जना सेक्युरिटी गार्ड, २५ जना पसलका कर्मचारी, ६ जना केयरगिभर र ५ जना शिक्षकले रोजगारी पाएका छन् । त्यसैगरी, १० जना लोड-अनलोड कर्मचारी, १० जना सवारी चालक र अन्य विभिन्न प्राविधिक क्षेत्रमा युवाहरू आबद्ध भएका छन् ।

मेलाका अवसरमा सीपमूलक तालिम र परामर्शमा पनि ठूलो सङ्ख्यामा उत्साहजनक सहभागिता रहेको थियो । जसमा ब्युटीसियनतर्फ २५०, इलेक्टिसियनतर्फ ३००, कम्प्युटरतर्फ १२५ र बेकरीसम्बन्धी तालिममा १५० जना सहभागी भएको आयोजकले जनाएको छ । करिब १८० जनालाई रोजगारी दिलाउने लक्ष्य राखिए पनि पहिलो चरणमा १२१ जनाले अवसर पाएका छन् ।

मेला समापनका अवसरमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले दक्ष जनशक्तिको अभाव र बेरोजगारी समस्या समाधान गर्न यस्ता मेला प्रभावकारी हुने बताउनुभयो । उहाँले आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बिर्तामोडमा १६४ जनालाई अवसर
यसअघि बिर्तामोड नगरपालिका र बिर्तामोड उद्योग वाणिज्य सङ्घको सहकार्यमा आयोजित दुईदिने ‘बिर्तामोड रोजगार मेला’ बाट १६४ जनाले रोजगारी प्राप्त गरेका थिए । मेलामा कुल एक हजार ७६ जनाले आवेदन दिएकोमा प्रारम्भिक चरणमा योग्यता र सीपका आधारमा १६४ जनालाई विभिन्न रोजगारदाता संस्थाहरूमा आबद्ध गराइएको हो ।

मेलाका सहजकर्ता सेवक बजगाईंका अनुसार मेलालाई दुई हजार ८७१ जनाले प्रत्यक्ष अवलोकन गरेका थिए । बाँकी रहेका आवेदकहरूलाई उनीहरूको योग्यता र अनुभवका आधारमा आगामी दिनमा अन्य रोजगारदातासँग समन्वय गराइने प्रक्रिया अघि बढाइएको छ ।

स्थानीय सरकार, उद्योगी व्यवसायी र निजी क्षेत्रको यो संयुक्त पहलले झापामा बेरोजगारी न्यूनीकरणका साथै स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।