पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी बनाउन माग
इस्तानबुल । विश्वका मुसलमान देशका नेताहरुको एक भेलाले इजरायलको अधीनमा रहेको पूर्वी जेरुसलेमलाई प्यालेस्टाइनको राजधानीका रुपमा मान्यता दिन आह्वान गरेको छ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने निर्णयले निम्ताएको आक्रोशबीच टर्कीको इस्तान्बुलमा ५० भन्दा बढी इस्लामिक देशहरुको आपत्कालिन भेला बोलाइएको थियो।
सो भेलापछि जारी वक्तव्यमा राष्ट्रपति ट्रम्पले जानाजान मध्यपूर्वमा शान्ति प्रयासहरुलाई कम आँकेको आरोप लगाउनुका साथै उनको कदमले आतंकवादलाई बढावा दिने बताइएको छ।
सो भेलालाई सम्बोधन गर्दै प्यालेस्टिनी नेता महमुद अब्बासले राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने निर्णयगरेबाट शान्ति वार्ताहरुमा अमेरिकीहरुले सहजकर्ताको भूमिका निर्वाह गर्न नसक्ने प्रष्ट पारेको बताए।
उनले अब संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको नेतृत्व लिनु पर्ने बताए।
उनले भने, यो निर्णयसँगै अमेरिकाले मध्यस्थकर्ताको रुपमा आफ्नो क्षमता गुमाउने र शान्ति प्रक्रियामा आफ्नो भूमिकाबाट बाहिरिने बाटो रोजेको छ। हामी उसको भूमिकालाई स्वीकार गर्न सक्दैनौं। उनीहरु पुरै इजरेलको पक्षमा छन् भनी प्रमाणित भएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोआनले विश्वका अन्य देशहरुलाई जेरुसलेमको मुद्दामा अमेरिकाले डरत्रास देखाइरहेको बताए।
इस्लामिक मुलुकहरुको संगठन, ओआइसी, को शिखर बैठकमा एर्दोआनले यसै महिनाको शुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको निर्णय गैरकानुनी र उक्साउने खालको भएको टिप्पणी गरे।