राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, हालसम्म झण्डै १३ लाख व्यावसायिक प्रतिष्ठान सूचीकृत
काठमाडौँ, ४ असार । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ अन्तिम चरणमा पुगेको छ। यस राष्ट्रिय महाअभियानअन्तर्गत यही असार ३ गतेसम्म देशभरका कुल १२ लाख ९८ हजार व्यावसायिक प्रतिष्ठानहरू गणनामा सहभागी भइसकेका छन्।
कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार गत वैशाख २ गतेदेखि सुरु भएको राष्ट्रिय आर्थिक गणना अभियान आगामी असार ७ गते सम्पन्न हुँदैछ। “राष्ट्रिय आर्थिक गणना हालसम्म उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ,” प्रवक्ता लामिछानेले भन्नुभयो, “अब गणना सकिन तीन दिन मात्र बाँकी रहेकाले छुटेका अन्य सबै व्यावसायिक प्रतिष्ठानहरूलाई पनि यस राष्ट्रिय गणनामा सहभागी हुन हामी अनुरोध गर्दछौँ।”
राष्ट्रिय तथ्याङ्क कार्यालयले यस महाअभियानका लागि देशभर ३ हजार ९०६ जना गणक खटाएको छ। ती गणकहरूलाई आवश्यक र सही तथ्याङ्क उपलब्ध गराई सहयोग गर्न कार्यालयले सबै उद्यमी व्यवसायीहरूसँग अपिल गरेको छ।
‘कोही पनि प्रतिष्ठान/व्यवसाय गणनामा सहभागी हुन नछुटौँ, यो महाअभियानलाई सफल पारौँ’ भन्ने मूल सङ्कल्पका साथ यो गणना सञ्चालन भइरहेको छ।