दक्षिण अफ्रिकी राष्ट्रपति जुमाद्वारा राजीनामा दिन अस्वीकार
दक्षिण अफ्रिका । सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको आइतवारको वार्तापछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेबक जुमामाथि राजीनामा दिन दवाब बढ्दो छ।
वार्ताबारे बिस्तृत विवरण सार्वजनिक गरिएको छैन तर पार्टीका नेताहरूले सोमवार आकस्मिक बैठक बोलाएका छन्।
राष्ट्रपति जुमाले भ्रष्टाचार गरेको आरोपहरू झेलिरहेका छन्।
गत डिसेम्बरमा सिरिल रामापोसा जुमाको स्थानमा पार्टीका सभापति बनेका थिए।
विश्लेषकहरू भन्छन्, अर्को वर्ष हुने चुनावअघि पार्टी फुट्न सक्ने भएकोले पार्टीका प्रमुखहरू शक्ति संघर्षलाई पन्छाउन चाहन्छन्।
संसद्मा संकल्प प्रस्ताव लगेर सत्तारूढ दलका नेताहरूले राष्ट्रपति जुमालाई हटाउने प्रक्रिया थाल्ने अपेक्षा गरिएको छ।
प्रिटोरियास्थित राष्ट्रपतिको निवासमा वार्ताका लागि एएनसी पार्टीका ६ जना वरिष्ठ नेताहरू आइतवार पालैपालो गरी पुगेका थिए।