कावासोतीका विद्यालयमा विद्यार्थीले बनाए रोबोट, उत्पादनसँग पनि जोडिँदै

नवलपरासी, ५ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिकाका विद्यालयहरू अहिले परम्परागत किताबी ज्ञानबाट माथि उठ्दै आविष्कार र उत्पादनको केन्द्र बन्न थालेका छन् । गण्डकी प्रदेश सरकारको ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सुरु गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ अभियानले विद्यालय शिक्षालाई प्रविधि, अनुसन्धान र प्रयोगसँग जोडेको हो ।

नगरपालिकाभित्रका २३ वटा विद्यालयमा अहिले विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजनाहरू सञ्चालन भइरहेका छन्, जसले विद्यार्थीहरूमा उत्साह जगाएको छ ।

कावासोती–१७ मा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालय यतिबेला चर्चामा छ । यहाँका शिक्षक र विद्यार्थी मिलेर ‘राधा’ नामको रोबोट निर्माण गरेका छन् । विद्यालयमा पुग्ने पाहुनालाई यो रोबोटले हात जोडेर ‘नमस्कार’ गर्दै स्वागत गर्छ । विज्ञान शिक्षक सुजन पोख्रेलका अनुसार यो परियोजनाले विद्यार्थीहरूलाई रोबोटिक्स र कोडिङको आधारभूत ज्ञान मात्र दिएको छैन, प्रविधि क्षेत्रमा भविष्य खोज्न प्रेरित समेत गरेको छ ।

कक्षा ९ मा अध्ययनरत छात्रा समृद्धि पोख्रेल भन्छिन्, “आफैँले रोबोट निर्माण र सञ्चालन गर्न पाउँदा एकदमै नयाँ र रमाइलो अनुभव भएको छ । किताबमा पढेको कुरा व्यवहारमा उतार्न पाउँदा सिक्न सजिलो भएको छ ।”

नगरका अन्य विद्यालयहरू पनि फरक–फरक सिर्जनशील काममा जुटेका छन् :
पिठौली आधारभूत विद्यालय (वडा १३) : नवीकरणीय ऊर्जामा आधारित बेसार प्रशोधन एकाइ स्थापना ।
गोसाइँबाबा आधारभूत विद्यालय : अम्बा र बेसार खेतीसँगै प्रशोधन कार्यक्रम ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय : विद्यालयको भान्साबाट निस्कने जैविक फोहर प्रयोग गरी बायोग्यास उत्पादन ।

कावासोतीका विद्यालयहरूमा अहिले सोलार ड्रायर निर्माण, स्मार्ट सिँचाइ प्रणाली, गड्यौला मल उत्पादन, नर्सरी व्यवस्थापन र इको–पोखरी निर्माण जस्ता कार्यहरू भइरहेको शिक्षा शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।

शिक्षा शाखा अधिकृत पाण्डेका अनुसार यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता, अनुसन्धान गर्ने बानी र नेतृत्व विकास गर्नु हो । “अब विद्यार्थीले किताब मात्र पढ्ने होइन, जीवनोपयोगी सीप पनि सिकुन् भन्ने हाम्रो चाहना हो,” पाण्डेले भने, “यसले उनीहरूलाई भविष्यमा आत्मनिर्भर र सक्षम नागरिक बन्न सघाउनेछ ।”

परियोजनालाई थप प्रभावकारी बनाउन नगरपालिकाले प्रोत्साहनको व्यवस्था समेत गरेको छ । कार्यक्रमको मूल्याङ्कनपछि उत्कृष्ट ठहरिने तीन वटा विद्यालयलाई प्रतिविद्यालय १ लाख रुपैयाँ र उत्कृष्ट १० जना शिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पाण्डेले बताए । प्राविधिक सहयोग र सीमित बजेट जस्ता चुनौतीका बीच कावासोतीले थालेको यो अभियानले शिक्षालाई श्रम र उत्पादनसँग जोड्ने दिशामा एउटा ‘नमुना प्रयास’ गरेको स्थानीयको बुझाइ छ ।