१० खेलाडीमा सीमित बोस्नियामाथि स्विट्जरल्यान्डको प्रभावशाली जित, समूह ‘बी’ को शीर्ष स्थानमा
काठमाडौं । जोहान मान्जाम्बीको सानदार प्रदर्शन र वैकल्पिक खेलाडीको प्रभावकारी भूमिकाको मद्दतले स्विट्जरल्यान्डले फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गतको खेलमा बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ गोल अन्तरले स्तब्ध पारेको छ। यो सानदार जितसँगै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा उक्लन सफल भएको छ।
अमेरिकाको लस एन्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन भार्गास र कप्तान ग्रानिट जाकाले एक–एक गोल थपे।
खेललाई मोडिदिएको त्यो ‘रातो कार्ड’
खेलको ८०औँ मिनेटसम्म बोस्नियाले स्विट्जरल्यान्डलाई कडा चुनौती दिइरहेको थियो। तर, डिफेन्डर तारिक मुहारेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको समीकरण पूर्णतः बदलियो। स्विस स्ट्राइकर ब्रिल एम्बोलोले गोल गर्ने स्पष्ट अवसर सिर्जना गरिरहेका बेला पछाडिबाट फाउल गरेपछि रेफ्री जोआओ पिन्हेइरोले उनलाई सिधै रातो कार्ड देखाएका थिए। १० खेलाडीमा सीमित भएपछि रक्षात्मक रूपमा बोस्निया कमजोर देखियो, जसको फाइदा स्विट्जरल्यान्डले भरपुर उठायो।
प्रशिक्षकको सफल रणनीति र मान्जाम्बीको जादु
खेलको सुरुवाती ७० मिनेटसम्म बोस्नियाको रक्षापंक्ति तोड्न स्विट्जरल्यान्डलाई निकै कठिन भएको थियो। तर, प्रशिक्षक मुराट याकिनले ७१औँ मिनेटमा जोहान मान्जाम्बीलाई मैदान छिराउने निर्णय गरेसँगै खेलको गति फेरियो।
मैदान प्रवेश गरेको केही मिनेटमै मान्जाम्बीले टोलीलाई सुरुवाती अग्रता दिलाए। बायाँ विंगबाट रुबेन भार्गासले प्रहार गरेको क्रसलाई बोस्नियाली डिफेन्डरले क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्रमा आएको बलमा मान्जाम्बीले उत्कृष्ट ‘भली’ प्रहार गर्दै जाली चुमाएका थिए।
गोलको वर्षा र जाकाको पेनाल्टी
मुहारेमोभिच बाहिरिएपछि स्विट्जरल्यान्डले आक्रमणलाई थप तीव्र बनायो। ८४औँ मिनेटमा एम्बोलोको पासलाई सदुपयोग गर्दै रुबेन भार्गासले तल्लो कुनाबाट गोल गरी अग्रता दोब्बर बनाए। खेलको ९०औँ मिनेटमा भार्गासकै सहयोगमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–० पुर्याए।
इन्जुरी समयमा बोस्नियाका वैकल्पिक खेलाडी एर्मिन माह्मिकले एक गोल फर्काउँदै सान्त्वना दिए पनि त्यसको केही बेरमै स्विट्जरल्यान्डले पेनाल्टी पायो। कप्तान ग्रानिट जाकाले पेनाल्टीलाई गोलमा परिणत गर्दै ४–१ को जित सुनिश्चित गरे।
समूह तालिका र आगामी समीकरण
यो जितसँगै दुई खेलबाट ४ अंक जोड्दै स्विट्जरल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा आयोजक कतारसँग १–१ को बराबरीमा रोकिएको स्विस टोली अब लगातार चौथो पटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यको नजिक पुगेको छ।
अर्कोतर्फ, पराजित बोस्नियाको अघिल्लो चरण प्रवेशको सम्भावना निकै कमजोर बनेको छ। एक अंकमा सीमित बोस्नियाले अब नकआउट चरण पुग्नका लागि अन्तिम समूह खेलमा कतारलाई अनिवार्य पराजित गर्नुपर्नेछ।
बोस्नियाको कमजोरी: अन्तिम २० मिनेट
यस प्रतियोगितामा बोस्नियाको प्रदर्शनमा एउटा अनौठो तथ्याङ्क देखिएको छ। टोलीले हालसम्म बेहोरेका पाँचै गोल ७०औँ मिनेटपछि भएका छन्। खेलको अन्तिम समयमा एकाग्रता कायम राख्न नसक्नु बोस्नियाका लागि मुख्य चुनौती बनेको छ।