कार्टुनबाटै कलाकारहरूले दिए विपद्को चेतावनी, नक्सालमा सुरु भयो ‘विपद्को चेतना, कलाको अभिव्यक्ति’ प्रदर्शनी
काठमाडौँ, ५ असार । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ काठमाडौँको नक्सालमा विशेष कार्टुन कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बिहीबारदेखि ‘विपद्को चेतना, कलाको अभिव्यक्ति’ शीर्षकको प्रदर्शनी सुरु भएको हो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी सुरु गरिएको हो । प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले कार्टुन जस्ता प्रभावशाली कलामार्फत जटिल र गम्भीर सन्देशहरू जनमानससम्म सहजै पुग्ने बताए ।
“विपद्को पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि विद्यालय तहदेखि नै विद्यार्थीलाई शिक्षित गराउनु पर्छ,” कोइरालाले भने, “कलाकारहरूसँगको सहकार्यले यस्ता जनचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउनेछ ।”
कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वजानकारी र तयारीको विकल्प नरहेको बताए । कला जनचेतना फैलाउने सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै उनले यस्ता प्रदर्शनीलाई सातै प्रदेश र स्थानीय तहसम्म पुर्याउनु पर्नेमा जोड दिए ।
त्यस्तै, प्रतिष्ठानकी निवर्तमान प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारीले गत वर्षदेखि सुरु भएको यो अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिइन् ।
प्रदर्शनीमा नेपालका चिनिएका १७ जना कार्टुनिस्टहरूका ४६ वटा कलाकृति राखिएका छन् । जसमा २० वटा नयाँ र २६ वटा अघिल्लो वर्षका उत्कृष्ट कार्टुनहरू समावेश छन् ।
प्रदर्शनीमा बासु क्षितिज, अविन श्रेष्ठ, देवेन्द्रकुमार काफ्ले, रविन्द्र मानन्धर, रवि मिश्र, भानु भट्टराई, अर्पिता शाक्य, विश्व थापा, सुदर्शन सिग्देल, पल्पसा मानन्धर, सानुराज डङ्गोल, राजेश मानन्धर, दीपक गौतम, महेश बस्ताकोटी, केशवराज खनाल, कृष्णगोपाल श्रेष्ठ र योगेश खपाङ्गीका चित्रहरू रहेका छन् ।
विपद् व्यवस्थापनका विभिन्न पक्षलाई व्यङ्ग्यात्मक, रोचक र सन्देशमूलक ढङ्गले प्रस्तुत गरिएको यो प्रदर्शनी आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा प्राधिकरणका पदाधिकारी, कलाकार, सञ्चारकर्मी तथा कलाप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । वर्षायाम सुरु भएसँगै बाढी, पहिरो र डुबान जस्ता विपद्को जोखिम बढ्ने भएकाले यो प्रदर्शनीलाई सान्दर्भिक मानिएको छ ।