कैलाश मानसरोबर जाने भारतीय तीर्थयात्री अलपत्र


हुम्ला । कैलाश मानसरोवर यात्राका क्रममा हुम्लाका विभिन्न भागमा अडकिएका भारतीय तीर्थयात्रीहरुमध्ये १ सय जना भन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले बताएका छन्।

हिल्सा क्षेत्रमा रहेकाहरुलाई हेलिकप्टर मार्फत सदरमुकाम सिमिकोटमा झार्ने र सिमिकोटमा रहेकाहरुलाई हवाइजहाजबाट नेपालगंज पुर्याउने काम दिनभर जसो भएको बताइएको छ।

थोरै उडान र धेरै तीर्थयात्री रहेका कारण अझै पनि समस्या झेल्नु परेको तीर्थयात्रीहरुको भनाइ छ।

बैशाख महिनाको दोस्रो सातादेखि शुरु भएको कैलाश मानसरोवर तीर्थयात्रा भारतीय तीर्थयात्रीको प्रमुख आकर्षण मानिने गर्दछ।

केही दिन देखिको अधिक वर्षाका कारण हुम्लामा उडान हुन नसके पछि उक्त तीर्थयात्रामा रहेका झन्डै एकहजार जना हुम्ला जिल्लाका विभिन्न भागमा अड्किएर बस्न वाध्य भएको अनुमान गरिएको छ।

ती मध्ये मंगलवार केहीलाई हिल्साबाट सदरमुकाम ल्याइएको र केहीलाई नेपालगंज पठाइएको अधिकारीहरुलदे जनाएका छन्।
हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक रविन श्रेष्ठले भने, मंगलवारबाट उडानहरु शुरु भएको छ त्यसले गर्दा अवस्था विस्तारै सुधार हुँदैछ। मौसम खुलेसँगै आवागमन सहज हुन्छ, अनि सबै तीर्थयात्रीहरुलाई फर्काउन सहज हुन्छ।