हलसँगै काठमाडौँका सडकमा पनि विकसित हुँदै फिल्म संस्कृति : गल्ली-गल्लीमा फिल्मको उत्सव

काठमाडौँ, असार ६ । फिल्म भन्नेबित्तिकै हाम्रो मानसपटलमा अँध्यारो हल, ठुलो पर्दा र पपकोर्नको दृश्य नाच्छ । तर, अब नेपाली सिनेमाको रन्को हलभित्र मात्र सीमित रहेन । काठमाडौँ महानगरपालिकाले सिनेमालाई गल्ली, चोक र डबलीहरूसम्म पुर्‍याउँदै एक नयाँ उत्सवको सुरुवात गरेको छ, ‘टोल टोलमा फिल्म महोत्सव’ ।

असार ५ गते शनिबार साँझ, काठमाडौँको ऐतिहासिक खुला मञ्च एक भव्य खुल्ला सिनेमा घरमा परिणत भयो । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवको उद्घाटन गरेसँगै अब असार महिनाभरि हरेक शुक्रबार र शनिबार काठमाडौँका विभिन्न टोलहरूमा सिनेमाको सुगन्ध फैलनेछ ।

कान्स जितेको ‘हात्ती’लाई १० लाखको सम्मान

यो महोत्सवको पहिलो दिन केवल फिल्म प्रदर्शनमा मात्र सीमित रहेन, यो नेपाली सिनेमाको अन्तर्राष्ट्रिय सफलतालाई उत्सवका रूपमा मनाउने अवसर पनि बन्यो । फ्रान्सको प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्ड जितेर इतिहास रचेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’ लाई महानगरले नगद १० लाख रुपैयाँसहित सम्मान गर्‍यो ।

निर्देशक अविनाश विक्रम शाह र उनको टोलीलाई मञ्चमा सम्मान गरिँदा उपस्थित दर्शकको तालीले खुला मञ्च गुञ्जायमान भएको थियो । कान्समा ८ मिनेटसम्म उठेर ताली (स्ट्यान्डिङ ओभेसन) पाएको यो फिल्मलाई आफ्नै आगनमा सम्मान पाउँदा निर्देशक शाहले भावुक हुँदै भने, “महानगरले हामीलाई अभिभावकत्व प्रदान गरेको छ, यसले नयाँ सिर्जनाका लागि ऊर्जा थपेको छ ।”

सिनेमा, संगीत र सम्पदाको त्रिवेणी

महोत्सवको उद्घाटन सत्रमा केवल लामा फिल्म मात्र होइन, छोटा तर गहकिला कथाहरू पनि पस्किए । अमन शाहीको ‘नन्द’, ताराङ्को ‘सवारी साहित्य’ र इशान भुषालको ‘पेन्गुइन रिभोलुसन’ जस्ता लघु चलचित्रहरूले दर्शकलाई बाँधिराखे । फिल्मका दृश्यहरूका बिचमा ‘कुटुम्ब व्याण्ड’को माटोको सुगन्ध आउने धुनले माहोललाई थप साङ्गीतिक बनाएको थियो ।

महोत्सवको उद्देश्य केवल मनोरञ्जन मात्र होइन । कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार, काठमाडौँका मूर्त-अमूर्त सम्पदा, यहाँका कथा र जीवनशैलीलाई रचनात्मक उद्योगसँग जोड्न यो अभियान थालिएको हो । “सिनेमालाई हलको चार घेराभित्र मात्र थुनेर राख्नुहुँदैन, यसलाई समुदायको मुटुसम्म पुर्‍याउनुपर्छ,” डंगोलले भनिन् ।

कहाँ-कहाँ हुँदैछ त महोत्सव?

असार ६ गते असनको व्यस्त चोकमा महोत्सवको दोस्रो दिनको रौनक देखियो । अब यो यात्रा काठमाडौँका बालाजु बाइपास क्षेत्र, बागबजार सडक खण्ड, यट्खा बहाल र लगनटोल, मैतीदेवी मन्दिर परिसर र सुन्धारामा लघु चलचित्रसँगै स्थानीय रीतिथिति, नाचगान, बादन र मौलिक खानपानका परिकारहरूको पनि स्वाद लिन पाइनेछ ।

रचनात्मक सहरको नयाँ पहिचान

नेपालको काठमाडौँ र फ्रान्सको कान्स दुवै ‘युनेस्को क्रियटिभ सिटीज नेटवर्क’ का सदस्य हुन् । कान्सले विश्वलाई सिनेमा दिन्छ भने काठमाडौँले आफ्नो जीवन्त संस्कृतिलाई सिनेमामार्फत विश्वमा पुर्‍याउने लक्ष्य राखेको छ ।

महोत्सवमा चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल र किम्फ जस्ता संस्थाहरूको सहकार्यले यसलाई थप गरिमामय बनाएको छ । यदि तपाईं पनि फिल्मको पारखी हुनुहुन्छ र काठमाडौँको खुल्ला आकाशमुनि बसेर मौलिक कथाको रसास्वादन गर्न चाहनुहुन्छ भने, यो असारका शुक्रबार र शनिबार आफ्नै नजिकैको टोलमा पुग्न नबिर्सनुहोला ।

किनकि, यसपालि सिनेमा तपाईंको घरदैलोमै आइपुगेको छ !